असोज ९, कञ्चनपुर ।
बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । म१च ३०१ नम्बरको जीपसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
काठ तस्करीमा संलग्न उनीहरूले जीपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी गरिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई काठसहित पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार तस्करीमा संलग्न बेदकोट नगरपालिका–५ का २५ वर्षीय घनश्याम पन्त र शुक्लाफाँटा नगरपालिका–८ बस्ने २२ वर्षीय मोहन बोहरा रहेका छन् । उनीहरूका साथ जीपमा लुकाइछिपाइ राखेको पाँच फिट एक इन्च लम्बाइ, तीन इन्च उचाइ, चार इन्च चौडाइ भएका सालका १५ थान चिरान गरिएको काठ बरामद गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।
बरामद काठ, जीप र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ । काठ र जीप गरी जम्मा १२ लाख ३० हजार रूपैयाँको सामान बरामद भएको हो । (रासस, फाइल फोटो)







