एकै दिनमा चारजनाको मिर्गौला प्रत्यारोपण सफल

३१ असार, काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन चार जनामा मिर्गौला प्रत्यारोपण सफल भएको छ।

केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा चार जनामा प्रत्यारोपण भएको हो। अर्घाखाँचीकी २६ वर्षीया छोरीलाई ४८ बर्षीया आमाले मिर्गौला दान दिएकी छुन्। दोस्रोमा, दोलखाका २७ वर्षीय सौतेनी छोरालाई ३८ वर्षीया आमाले मिर्गौला दान गरेकी हुन्।

यस्तै, तनहुँका ३६ बर्षीय पुरुषलाई उनकी ३५ वर्षीया श्रीमतीले मिर्गौला दिएकी हुन्। चौथो प्रत्यारोपणमा काभ्रेका ३५ बर्षीय पुरुषको भएको छ । उनलाई आफ्नै ५२ बर्षिय बुबाले मिर्गौला दान गरेका हुन्।

डा श्रेष्ठका अनुसार प्रत्यारोपित तथा अङ्गदाता सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

उनका अनुसार केन्द्रमा हालसम्म ९०० जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ। ती मध्ये ९९ प्रतिशतको प्रत्यारोपण सफल भएको छ। यसैगरी, हाल ६०० जना मिर्गौला रोगी पालो कुरेर बसेको पनि डा श्रेष्ठले जानकारी दिए।