मोरङ कारागारमा काेराेनाले एक जनाको मृत्यु

३१ असार, मोरङ । जिल्ला कारागार मोरङमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ। अत्यधिक ज्वरो आएर उपचारका लागि भर्ना गरिएका कैदी बन्दीहरुको एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो।

कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेका मध्ये एक जनाको बिहीबार नै मृत्यु भएको छ ।

अत्यधिक ज्वरो आएपछि कोसी अस्पतालमा भर्ना गरिएकामध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो ।

१८ जना उपचाररत छन् । अस्पताल पुर्‍याइएका मध्ये १६ जनालाई एन्टिजेन पोजेटिभ देखिएको छ । दुई जनाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनासँग मिल्दो जुल्दो लक्षण रेहको अस्पतालले जनाएको छ ।

सबै कैदीबन्दीहरुलाई कोसीको कोभिड अस्पतालमा सारेर उपचार गर्ने तयारी भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहालले बताए । अस्पताल र कारागारको स्थलगत अनुगमनमा रहेका दाहालका अनुसार कारागारका सबै कैदीबन्दीको ज्वरो परीक्षण गरेर शंकास्पदलाई आइसोलेट गर्ने तयारी भइरहेको छ । यसअघि यहाँका सबै कैदीबन्दीलाई कोभिडको दोहोरो भ्याक्सिन लगाइएको थियो ।

उनका अनुसार कोभिड संक्रमण देखा पर्न थालेपछि सबै सीमा÷नाकामा स्वास्थ्य परीक्षण सुरु गरेर स्थानीय निकायलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन र कोभिड परीक्षणको प्रक्रिया थाल्न आग्रह गरिएको छ । उनले कोभिड संक्रमितको उपचारका लागि सबै आइसोलेसनलाई पुनः प्रयोगमा ल्याउने तयारी गरेका छन् ।

करिब तीनसय अट्ने क्षमताको मोरङ कारागारमा हाल लगभग एक हजार कैदीबन्दी राखिएको छ ।अत्याधिक गर्मी बडिरहेको र सांघुरो भएको कारणले पनि कैदीबन्दीमा छिटो कोरोना संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ।