एसपीपीमा सहभागि नहुने विषयमा अमेरिकालाई तत्काल पत्र लेख्न समाजवादी अध्यक्ष नेपालको माग

श्रावण ८, काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने विषयमा अमेरिकालाई तत्काल पत्र पठाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरेका छन् ।

आइतबार पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले प्रधानमन्त्री देउवालाई तत्कालै पत्र लेख्न भनेको बताएका छन् ।

उनले भने,’अस्ति प्रचण्डजी र मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई तुरुन्तै चिठ्ठी पठाउन भनेका छौं,त्यसमा ढिलोढाला हुने काम नहोस् भनेका छौं । यो विषयमा जनताहरूबाट पनि आवाज उठ्नु पर्छ । जनता सजग हुनुपर्छ। राष्ट्रियताको रक्षा गर्ने जनताले हो ।’

गत असार ६ गतेको मन्त्रिपरिषद्‍को बैठकले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरे पनि त्यस सम्बन्धी अमेरिकालाई औपचारिक रुपमा जानकारी गराएको छैन । एसपीपीमा नेपाल सहभागी हुन नहुने भन्दै संसद्‍ र बाहिर पनि व्यापक विरोधपछि सरकारले यस्तो निर्णय गरेको थियो ।