९ साउन, जनकपुरधाम । मधेश प्रदेश सरकारको टोली युरोपको भ्रमणमा जाने तयारीमा जुटेका छन् ।
संघीयताको मोडल अवलोकन गर्न मधेश प्रदेश सरकारको टोली युरोपको भ्रमणमा जाने तयारीमा जुटेकाे हाे ।
प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरु, प्रतिपक्षी दलका प्रतिनिधिसहित करिब डेढ दर्जन व्यक्तिहरु भदौ ६ गते यूरोपको स्वीटजरल्याण्ड भ्रमणमा जाने स्राेतले बताएकाे छ ।
स्राेतका अनुसार सो भ्रमण टोलीमा मुख्यमन्त्री राउत सहित प्रदेश सभामुख सरोजकुमार यादव, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन यादव, गृह तथा सञ्चार मन्त्री भरत साह, कृषि तथा सहकारी मन्त्री विजय यादव, अर्थमन्त्री शैलेन्द्र साह, प्रमुख सचिव लगायत झण्डै डेढ दर्जन व्यक्ति रहेका छन् ।
प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले कुनै घुम्ने रहरले नभई स्वीस सरकारको निमन्त्रणमा त्यहाँ जान लागेको बताए ।
सो भ्रमणबारे प्रमुख प्रतिपक्षी दल लोसपाका प्रमुख सचेतक परमेश्वर साहले भ्रमणमा जानु गलत नभएको तर समय उपयुक्त नभएको प्रतिक्रिया दिएका छन् ।
‘प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको महालेखाले समेत ठहर गरिसकेको र विभिन्न पक्षबाट आवाज उठिरहेको बेला सरकारको अन्तिम समय रहेकोले आरोपको खण्डन काम गरेर देखाउने बेलामा विदेश भ्रमणमा जानु उपयुक्त छैन ।’ उनले भने । टोलीको सम्पूर्ण खर्च मधेश प्रदेश सरकारले नै व्यहोर्नेछ ।
स्विटजरलेण्डको संघीयताको मोडेल अध्ययनका लागि जाने भनिएपनि सो भ्रमण टोली कार्यकालको अन्तिम समयमा विदेश भ्रमण गर्ने शौख पुरा गर्न जान लागेको कुरा चर्चामा रहेको छ । प्रदेश सरकारको बजेटले अमेरिका भ्रमण गरिसकेका राउत अन्तिम पटक यूरोपको भ्रमणमा जान लाग्दा सतारुढ र प्रतिपक्षी दलबाट विरोध हुन सक्ने डरले सर्वदलीय टोली बनाएर भ्रमणमा जान लागेको हो ।







