‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले भइरहेको प्रक्रिया ‘अन्तिम संस्कार’ नभई पहिचान नहुन्जेलका लागि अपनाइएको ‘अस्थायी व्यवस्थापन’ मात्र भएको प्रष्ट पारेका छन् ।

विपद्का कारण उत्पन्न जटिल परिस्थिति र सम्भावित स्वास्थ्य सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै अन्तरराष्ट्रिय मापदण्ड ९आइसीआरसी० र सरकारी निर्देशिकाअनुसार शव व्यवस्थापन भइरहेको उनले जानकारी दिए ।

आज जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले शव व्यवस्थापनामा भइरहेको कामका बारेमा प्रष्ट पार्दै भने, “यो दाहसंस्कार होइन, अन्तिम संस्कार होइन । शव पहिचान नहुन्जेलसम्मका लागि सम्मानजनक हिसाबले राखिएको अस्थायी संरक्षण प्रणाली हो । बाहिर राख्दा दुर्गन्धित भएर समाजमा सङ्क्रमक रोग फैलिन सक्नेतर्फ सचेत भएर हामीले कानुन बमोजिम र रेडक्रसको अन्तरराष्ट्रिय समितिको मार्गनिर्देशनलाई सम्मान गर्दै यो व्यवस्थापन गरेका हौँ ।”

चितवनका अस्पतालमा जम्मा ३० वटा शव राख्ने क्षमता भए पनि हालसम्म २७२ शव प्राप्त भइसकेकाले अन्य विकल्प नभएकाले शव गाड्ने निर्णयमा पुगेको प्रअिज अर्यालले बताए । उनका अनुसार प्राप्त २७२ शवमध्ये १० वटा आफन्तले जिम्मा लिइसकेका छन् भने अन्यको अस्थायी व्यवस्थापन गरिएको छ ।

प्रत्येक शवको फोटो, ट्याग नम्बर र डिएनए नमूना सुरक्षित राखिएकाले पछि आफन्त आएमा शव उत्खनन गरी हस्तान्तरण गर्न सकिने व्यवस्था मिलाइएको उनले बताए । उनले थपे, “यदि भोलि कुनै आफन्त आएर फोटो र ट्यागका आधारमा डिएनए परीक्षण गर्न चाहनुहुन्छ र परीक्षण सफल हुन्छ भने हामी माथिबाट कोड नम्बर खोजेर शव उत्खनन गरी उहाँहरूलाई अन्तिम संस्कारका लागि हस्तान्तरण गर्नेछौँ ।”

प्रअिज अर्यालले अस्थायी होल्डिङ सेन्टर बनाउँदा र ‘एसी’ तथा ‘कम्प्रेसर’ जोड्दा लगातार आउने प्राविधिक समस्याका साथै अहिले शव सड्न थालेकाले शव गाड्ने विकल्प पुगेको स्पष्ट पारे । उनले यो प्रक्रिया छनोट नभएर अन्तिम विकल्पको रूपमा बाध्यता अवस्थामा अपनाइएको बताए ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले अस्पतालमा क्षमताभन्दा बढी शव आएकाले फोरेन्सिक जाँच र डिएनए नमूना सङ्कलनमा निकै चुनौती थपिएको बताए । अत्यधिक गर्मीका कारण शव छिटो कुहिन थालेपछि विशेषज्ञ चिकित्सकको टोली खटाएर तीव्र गतिमा अभिलेखीकरणको काम गरिएको उनले जानकारी दिए ।

अस्पतालबाट महामारी फैलिने त्रासबारे प्रष्ट पार्दै डा बगालेले भने, “शव परीक्षण गरिएका ठाउँबाट सिधैँ महामारी फैलिने जोखिम रहँदैन । सरसफाइ गर्दा निस्कने तरल पदार्थ पानीको मुहानमा नमिसियोस् भनेर छुट्टै खाल्डो खनेर सुरक्षित व्यवस्थापन गरेका छौँ र दिनमा २५(३० पटकभन्दा बढी विषाणुरहित बनाउने औषधि छर्किएका छौँ ।”

उनका अनुसार अस्पतालमा नियमित प्रयोग हुने फ्रिजर २४ वटा मात्र उपलब्ध छन् । जसमा सामान्यतया पहिले दुईदेखि पाँच वटासम्म बेवारिसे वा दुर्घटनाका शव राखिएका हुन्छन् । एकैपटक धेरै शव आउँदा व्यवस्थापन गर्न गाह्रो भएको उनले बताए । भदौ १० गते बेलुका प्राप्त भएका २२ वटा शवलाई फ्रिजर, कोरिडोर तथा त्रिपालमुनि राखेर पहिलो दिन फोरेन्सिक प्रक्रिया पूरा गरी पठाइएको उनको भनाइ छ ।

सङ्कलित डिएनए नमूनाको परीक्षण अस्पतालमा नभई नेपाल प्रहरीको समन्वयमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हुने डा बगालेले प्रष्ट पारे । सामान्यतया नेपालमा डिएनए परीक्षणको रिपोर्ट आउन ३० देखि ४५ दिनसम्मको समय लाग्ने भन्दै लामो समयसम्म शव त्यसै राख्न सम्भव नभएपछि अस्थायी व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

अस्पतालमा कार्यरत फोरेन्सिक विज्ञ डा सुरज शर्माले समय बित्दै जाँदा शव अत्यधिक कुहिएर औँलाका छाप ९फिङ्गरप्रिन्ट० समेत लिन नसकिने अवस्था सिर्जना भएकाले डिएनए नमूना सङ्कलन नै पहिचानको मुख्य आधार भएको बताए । दाँत र शरीरको लामो हड्डीबाट डिएनए नमूना निकालेर नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने गरिएको उनले जानकारी दिए ।

शवको पहिचानका लागि उचाइ, कपडा, कोठी वा विशेष चिह्नको सुक्ष्म अभिलेख राखिएको छ । शव कुहिएर दुर्गन्ध बढे पनि हालको व्यवस्थापनका कारण अस्पताल तथा आसपासको क्षेत्रमा सङ्क्रमण वा महामारी फैलिने जोखिम नरहेको उनले प्रष्ट पारे ।

पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधिअनुसार चितवनको भरतपुर(१ स्थित देवघाट जङ्गलमा सुरक्षित व्यवस्थापन गरिएको फोरेन्सिक विज्ञ डा शर्माले जानकारी दिए ।