१३ साउन, काटमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित पत्र अमेरिकालाई पठाईसकेको जानकारी परराष्ट्रमन्त्री नारायण खड्काले दिएका छन्।
शुक्रबार संसदमा परराष्ट्रमन्त्री खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिएका हुन् । उनले भने, ‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु । आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो ।’
पत्राचार गर्न ढिला गरेको भन्दै कतिपयले संसयसमेत व्यक्त गरेको भन्दै उनले भने, ‘यसमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र छ ।’ स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सरकारसक्षम रहेको मन्त्री खड्काले बताए ।
सरकारले गत असार ६ गते एसपीपी अगाडि नबढाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद र सार्वजनिक रुपमा प्रश्न उठ्दै आएको थियो ।
निरन्तर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन पाँच गते सरकारलाई एसपीपीबारे भएको गतिविधिबारे जानकारी गराउन रुलिङ गरेका थिए ।







