राष्ट्रपति वाइडेन पुनः कोरोना संक्रमित

१५ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन पुनः कोरोना संक्रमित भएका छन्। ७९ वर्षिय वाइडेनको शनिबार गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो।

राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरका अनुसार पुनः कोभिड देखिएपछि उनी ह्वाइट हाउसमै आइसोलनमा बसेका छन्। यसअघि उनलाई जुलाई २१ मा पछिल्लो पटक कोरोना भाइरसको संक्रमण भएको थियो। उनले त्यतिबेला कोरोनाका हल्का लक्षणहरू आफूले अनुभव गरिरहेको बताए पनि यो संक्रमणमा आफूलाई कुनै पनि लक्षण नदेखिएको बताएका छन्।

शनिबारको परीक्षणपछि आफूलाई कुनै लक्षण नदेखिए पनि आफ्नो सम्पर्कमा आउनेलाई सतर्क रहन राष्ट्रपति वाइडेनले भनेका छन्।

चिकित्सक ओकोनरका अनुसार राष्ट्रपति बाइडेनको स्वास्थ्य स्थिति हेर्दा उनलाई थप उपचार गर्नु आवश्यक छैन। हाल वाइडेनले प्याक्सलोभिड खाइरहेका छन्।