१८ साउन, काठमाडाैँ । कर्मचारी समायोजनसँग सम्बन्धित रहेर परेका ९९ सय मुद्दालाई एकै ठाउँ राखेर सुनुवाई गरेको सर्वोच्च अदालतले आगामी भदौ १ गते फैसला गर्ने भएको छ । फैसलापछि कर्मचारी समायोजन सम्बन्धी विवाद समाप्त हुनेछ ।
काठमाडौं, १७ साउन । कर्मचारी समायोजनसँग सम्बन्धित रहेर सर्वोच्च अदालतमा परेका मुद्दाहरु टुंिगने दिशामा अगाडि बढेको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार ९९ सय मुद्दा परेका थिए । सबैलाई एकै ठाउँ राखेर सुनुवाई गरेको सर्वोच्च अदालतले आगामी भदौ १ गते फैसला गर्ने भएको छ । फैसलापछि कर्मचारी समायोजन सम्बन्धी विवाद समाप्त हुनेछ ।
मुलुक संघयितामा गएपछि पूर्ववर्ती सरकारले कर्मचारीहरुलाई रोज्न लगाएर संघ, प्रदेश र स्थानीय तहमा प्राथमिकताको आधारमा समायोजन गरेको थियो । तर समायोजन गर्दा सरकारले अन्याय गरेको भन्दै यस विषयमा पटकपटक सर्वोच्च अदालतमा ९९ वटा रिट दर्ता भएका थिए ।
कर्मचारी समायोजनको विषय प्रशासनिक मात्रै नभएर संवैधानिक व्याख्या पनि आवश्यक रहेको रिट निवेदकहरुको जिकिर छ । यही तर्क गरेर संयुक्त इजलासबाट पूर्ण इजलास, पूर्ण इजलासबाट बृहत पूर्ण इजलास र त्यहाँबाट पनि गम्भीर संवैधानिक व्याख्याको आवश्यकता रहेको भन्दै संवैधानिक इजलासमा पठाइएको थियो ।
हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरिएको यि रिटमाथिको सुनुवाइ साउन १७ गते मंगलबार सकिएपछि भदौ १ गतेका लागि फैसलाको मिति तोकिएको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेल भन्छन्, ‘निवेदक र सरकारी पक्षको जवाफ सकिएपछि संवैधानिक इजलासमा रहेको उक्त मुद्दामा भदौ १ गते निसु (निर्णय सुनाउने) मिति तय गरिएको छ ।’ उक्त दिन फैसला सुनाउन निसुको मिति तोकिएको हो ।
प्रवक्ता विमल पौडेलका अनुसार गत असार ७ गतेबाट कर्मचारी समायोजन सम्बन्धी सबै मुद्दालाई एकैठाउँमा राखेर संवैधानिक इजलासमा सुनुवाई गर्ने गरी पठाइएको थियो । त्यसपछि असार १५ गते पेसीमा चढे पनि सुनुवाइ हुन सकेको थिएन । असार २९ गते पेसीमा चढेपछि संवैधानिक इजलासबाट हेर्दाहेर्दैमा राखेर उक्त मुद्दाको सुनुवाइ अगाडि बढाइएकोमा मंगलबार सकिएको हो ।







