१९ साउन, काठमाडौं । चीनले ताइवानको स्वशासित टापुमा बिहीबार दुई वटा मिसाइल प्रक्षेपण गरेको छ ।
ताइवान सीमा क्षेत्र नजिक सैन्य अभ्यास थालेको चीनले गरेको यस युद्ध अभ्यासलाई अहिलेसम्मकै ठूलो मानिएको छ ।
ताइवानले भने चिनियाँ गतिविधिलाई लिएर आपत्ति जनाएको छ । चीनले सैन्य अभ्यास गरिरहँदा ताइवानको सामुद्रिक तथा बन्दरगाह विभागले चिनियाँ सैन्य अभ्यासबाट बच्न सचेत गराएको छ ।उक्त सैन्य अभ्यासका कारण पानी जहाजको मार्गमा पनि असर पुगेको बताइएको छ ।
ताइवान वरपर गरिएको उक्त सैन्य अभ्यास वास्तविक लडाइँका लागि गरिएको चिनियाँ सैन्य स्रोतको हवाला दिँदै अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन आक्रोशित बनेको हो । चिनियाँ अधिकारीहरूले पेलोसीको भ्रमणको चर्चा भएदेखि नै विरोध जनाउँदै आएका थिए। भ्रमणसँगै चीनले ताइवान वरपरको समुद्रमा सैन्य अभ्यास गरेको हो । विश्वका व्यस्त जलमार्गमध्ये एक मानिने यस क्षेत्रमा चीनले युद्धपोतहरू तैनाथ गरी सैन्य अभ्यास गर्दै आएको छ ।
ताइवानको सरकारले चिनियाँ अभ्यासले गर्दा आफ्ना अन्तर्राष्ट्रिय मार्गहरू अवरुद्ध हुने जनाएको छ । चीनले भने यस परिस्थितिका लागि अमेरिकालाई दोष लगाउँदै उक्त अभ्यासलाई ’आवश्यक र न्यायोचित’ भनेको छ ।
चिनियाँ गतिविधिलाई नजिकबाट नियालिरहेको ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर आफूहरुले युद्ध नचाहेको जनाएको छ ।







