एमालेको कारण समयमै महाअभियोग अघि बढाउन सकिएन : कांग्रेस

२३ साउन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोग समयमै अगाडि बढ्न नसक्नुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नै जिम्मेवार भएको टिप्पणी गरको छ ।

प्रतिनिधिसभामा महाअभियोगमाथि जारी छलफलमा भाग लिँदै एमाले सांसदहरुले समयमै किन अगाडि नबढाएको, करिब ६ महिना के हेरेर बसेको भनी गरेको प्रश्नहरु सुनेपछि कांग्रेसका सचेतक मीन विश्वकर्माले प्रश्न एमालेतिरै फर्काएका हुन् ।

महाअभियोग प्रस्तावलाई समयमै अगाडि बढाउन नसकेको र ढिलो भएको सरकार, सत्तारुढ दल र सभामुखलाई समेत बोध भएको उल्लेख गर्दै उनले भने, ‘विलम्ब भयो । यसको कारण हो – संसदले ९ महिनासम्म अवरोध झेल्नु ।’ संसदको अवरोध खुलेपछि संसको ध्यान बजेटमा केन्द्रीत भएको उल्लेख गर्दै अनुकुल समयमा महाअभियोग अगाडि बढेको दाबी गरे । ‘सिफारिस समिति बनेको छ । फेरि पनि सिफारिस समितिमा छलफल हुन्छ । विकृति विसंगतिको चाङमा उभिएका चोलेन्द्रविरुद्धको महाअभियोग पारित गरिनुपर्छ’ सचेतक विश्वकर्माले भने ।

कांग्रेस सांसदहरुले एमालेलाई विगतमा सर्वोच्च अदालतमा आन्दोलन भइरहँदा सबै पक्ष एकै ठाउँमा रहेको पनि स्मरण गर्न आग्रह गरेका छन् ।

सांसद विश्वकर्माले भने, ‘प्रधानन्यायाधीशले पद अनुसारको आचरण गर्न नसकको, विवादित र अन्यायपुर्ण फैसला गरेको भनेर कानुन व्यावसायीहरु, सबै तहका न्यायाधीशहरु, पूर्व न्यायायधीशहरु डेढ वर्ष अगाडि सकडमा कालो कोट लगाएर आन्दोलन गरिरहेका थिए । त्यसमा नेताहरु खै, सभामुख खै, सांसदहरु खै भनेर प्रश्न उठेको पनि सम्झन आवश्यक छ । त्यस अनुसार माननीयहरु प्रस्तुत हुनुहुन्छ भन्ने विश्वास छ ।’ डेढ वर्ष अघि जबराविरुद्ध आन्दोलन चलिरहँदा न्याय माग्न जानेहरु बाटैबाट फर्किएको उल्लेख गर्दै उनले थपे, ‘न्याय माग्न जानेहरु सर्वोच्चको गेटबाटै फर्किन्थे । त्यो बेला हामी सबै एकै ठाउँ थियौं । त्यसबेला हामी प्रतिपक्षमा थियौं । अहिले सत्तापक्षमा छौं । यसकारण यो महाअभियोग प्रस्ताव सबैको प्रस्ताव हो ।’

कांग्रेसका अर्का सांसद डिला संग्रौलाले पनि चौतर्फी राजीनामा मागिँदा, न्याय अवरुद्ध हुँदा समेत राजीनामा नदिएर सर्वोच्चलाई थप अविश्वसनीय बनाउन उद्धत भएकाले महाअभियोग आएको बताइन् । ‘यो प्रस्तावमा सत्तापक्ष र प्रतिपक्षको आखाँले नहेरी न्यायपालिकामा रहेको बिचौलिया र भ्रष्टाचारको विरुद्ध उभिएर जाउँ’ सांसद संग्रौलाले आग्रह गरिन ।

कांग्रेस सांसद राम बहादुर बिस्टले अत्ति भएकै कारण जबराविरुद्ध महाअभियोग प्रस्ताव आएको बताए ।

कांग्रेसका अर्का सांसद प्रकाश रसाइली स्नेहीले एमालेले महाअभियोगमाथि छलफल गर्ने वातावरण बनाउन नदिन एमालेले भूमिका खेलेका आरोप लगाए । ‘संसद अवरोध गर्ने छलफल गर्न नदिने वातावरण बनाउने अहिले आएर किन ढिला भयो भन्ने ?’ उनको प्रश्न छ ।

कांग्रेसकै सांसद रंगमति शाहीले जबराविरुद्धको महाअभियोग तुरुन्तै पास गरिनुपर्ने बताए । संसदमा महाअभियोग किन भनेर छलफल गर्नु अघि लगाइएका २१ वटा आरोप अध्ययन आवश्यक रहेको भन्दै उनले न्यायलय बचाउन पनि महाअभियोग पास गर्नुपर्ने बताइन ।