झन्डै ७७ हजार नेपाली स्वदेश फर्किए

असोज १०, काठमाडौं ।
विदेशमा रहेका झन्डै ७७ हजार नेपाली कोरोना संक्रमण फैलिएयता नेपाल फर्किएका छन् । सरकारी तथ्यांकले विदेशमा अप्ठेरोमा परेका ७६ हजार नौ सय ६७ नेपाली स्वदेश आएको देखाएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र(सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नेपाली नागरिक मुलुक फर्केका हुन् । यसरी नेपाल फर्किनेमा सवैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २२ हजार दुई १४ जना छन् । सबैभन्दा कम श्रीलङ्काबाट ५ जना फर्किएको तथ्यांक छ ।

उनीहरु अधिकांश रोजगारीका सिलसिलामा विदेश गएका थिए । केन्द्रका अनुसार, हालसम्म कतारबाट १० हजार तीन सय ६, कुवेतबाट ८ हजार तीन सय ३५, मलेसियाबाट ११ हजार तीन सय ५२ र साउदी अरेबियाबाट ११ हजार आठ सय १९ जना स्वदेश फर्किएका छन् ।

यसैगरी दक्षिण कोरियाबाट एक हजार चार सय ४७, बहराइनबाट एक हजार दुई सय ७४, ओमनबाट एक हजार एक सय ५० र अस्ट्रेलियाबाट एक हजार ९१ जना नेपाल फर्केका छन् । टर्कीबाट फर्किनेको संख्या नौ सय ३६ छ ।

यसरी स्वदेश फर्किनेमा प्रदेश नं १ का १४ हजार पाँच सय ४६, प्रदेश नं २ का ११ हजार नौ सय ९, बाग्मती प्रदेशका १८ हजार दुई सय ४७, गण्डकीका आठ हजार नौ सय ७३, प्रदेश नं ५ का ११ हजार चार सय ५०, कर्णाली प्रदेशका एक हजार पाँच सय १८ र सुदुरपश्चिम प्रदेशका एक हजार सात सय ३७ रहेको केन्द्रले जनाएको छ । फर्कने मध्ये आठ हजार चार सय ९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ ।