अध्यागमनले ६ भुटानीलाई विमानस्थलबाटै थिम्पु फर्कायो

१० भाद्र, काठमाडौं । नेपालको अध्यागमनले ६ जना भुटानी नागरिकलाई प्रवेश नदिएपछि भुटानको विदेश मन्त्रालयले एडभाइजरी जारी गरेको छ। त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले बिहीबार ट्राभल डकुमेन्ट (टीडी)मा नेपाल प्रवेश गर्न खोज्ने ६ जना भुटानी नागरिकलाई ‘इन्ट्री रिफ्युज्ड’ गरेको थियो।

ट्राभल डकुमेन्टमा नेपाल प्रवेश गर्न खोजेपछि अध्यागमनका अधिकारीहरुले उनीहरुलाई भुटान नै फिर्ता पठाएको हो। लगत्तै त्यहाँको पराष्ट्र मन्त्रालयले ट्राभल डकुमेन्टमा नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ।

ट्राभल डकुमेन्टमा नेपालको अध्यागमनले भिसा जारी गर्दैन। त्रिअवी अध्यागमनले भुटानी नागरिकहरु साङ्गे वाङ्मो, ठाकुर कुमारी क्षेत्री, तेन्जिन छोइङ ल्हामो, साङ्गा दोर्जी, किङ्गा छोदेन र कुसाङ् क्षेत्रीलाई आगमन अनुमति नदिई फिर्ता पठाएको हो।

अध्यागमनका एक अधिकारीले भने, ‘भुटानीहरु ट्राभल डकुमेन्टमा नेपाल प्रवेश गर्न आएका थिए। नेपालले ट्राभल डकुमेन्टमा भिसा जारी गर्दैन। त्यसैले उहाँहरुलाई फर्काइदिएका हौं।’

त्रिअवी अध्यागमन कार्यालयले भुटानी नागरिकलाई इन्ट्री रिफ्युज्ड गरेसँगै त्यहाँको विदेश मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै ट्राभल डकुमेन्टमा नेपाल भ्रमण नगर्न आग्रह गरेको छ। भुटानको विदेश मन्त्रालयले बिहीबार नै ट्राभल एडभाइजरी जारी गरेको थियो।

भुटानको परराष्ट्र मन्त्रालयले आफ्ना नागरिकले नेपाल भ्रमण गर्नुपरेमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट भिसा लिएरमात्र नेपाल भ्रमण गर्न आग्रह गरेको छ। नेपाल भ्रमणमा जाने आफ्ना नागरिकलाई भिसा प्राप्तीका लागि दिल्लीस्थित नेपाली दूतावाससँग समन्वय गर्ने भुटानको पराष्ट्र मन्त्रालयले जनाएको छ।

थिम्पुस्थित परराष्ट्र मन्त्रालयले आफ्ना सबै दूतावास र नियोगहरुमा समेत ट्राभल डकुमेन्टमा नेपाल भ्रमण नगर्न भन्दै पत्राचार गरेको छ। ट्राभल डकुमेन्टमा अस्ट्रेलिया, जापान र थाइल्याण्ड जाने भुटानी नागरिकहरुलाई हालसम्म कुनै समस्या नपरेको त्यहाँको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विना अवरोध जुनसुकै मुलुक भ्रमण गर्न सक्ने भुटानी नागरिकको अधिकार भएको भन्दै त्यहाँको परराष्ट्र मन्त्रालयले आफ्ना ६ जना नागरिकले नेपाल जाने क्रममा व्यहोरेको असुविधाप्रति क्षमा मागेको छ।