असोज १२, काठमाडौं ।
अमेरिकी कम्पनी एप्पलले भारतमा पहिलोपल्ट प्रत्यक्ष रूपमा आफैले आफ्नो उत्पाद बेच्ने भएको छ । भारतीय बजारमा प्रवेश गरेको दुई दशक नाघिसक्दा पनि बल्ल उक्त कम्पनीले भारतीय बजारमा आफैले आफ्ना उत्पाद बेच्न लागेको हो ।
गएको बुधबारबाट एप्पलले भारतमा आफ्नो पहिलो अनलाइन स्टोर खोलेको हो । विश्वको सबैभन्दा ठूलो मध्येको एक अर्थतन्त्र भएको मुलुक भारतमा हाल अनलाइन स्टोर मात्र सञ्चालन गरे पनि अर्को वर्ष नै भारतमा भौतिक रुपको एप्पल स्टोर खोल्ने कम्पनीको तयारी छ ।
केही वर्षदेखि भारतमा विदेशी बिक्रेता कम्पनीहरुलाई भारतमा आफ्नो शाखा खोल्न नियम कडा बनाइएका थिए । भारतमा आफ्नो उत्पादन बेच्ने शाखा खोल्नका लागि उनीहरूले आफ्नो उत्पादनको कच्चा पदार्थमध्ये कम्तिमा ३० प्रतिशत भारतीय सामान प्रयोग गर्नुपर्ने नियम थियो ।
सोही कारण भारतीय बजारमा आफ्ना उत्पादन बेच्नका लागि एप्पल सहित अन्य कम्पनीले डिलरहरुको भर पर्नु परेको थियो । तर गत वर्ष भारत सरकारले वैदेशिक लगानी सम्बन्धी नियमलाई केही खुकुलो बनाएसँगै भारतीय बजारमा आफ्नो भौतिक उपस्थिति जनाउन एप्पल अगाडि बढेको हो ।
उक्त कम्पनीले भारतमा सञ्चालन गरेको नयाँ ई–कमर्स प्लाटफर्ममार्फत् प्रयोगकर्ताहरुले अनलाइनबाटै आफ्ना म्याकहरु कस्टमाइज गर्न सक्नेछन् र विभिन्न ७ वटा भारतीय भाषाहरुमा एप्पलका उत्पादन चलाउन पाउनेछन् ।
भारतमा दीपावली अगाडिको समय सबैभन्दा धेरै स्मार्टफोन बिक्री हुने समय भएको हुँदा एप्पलले सुरु गरेको अनलाइन स्टोरका कारण यो वर्ष भारतीय बजारमा आइफोन लगायतका एप्पल प्रडक्टको बिक्री उल्लेखनीय रुपमा बढ्ने अपेक्षा गरिएको छ । भारतमा वार्षिक रुपमा बिक्री हुने स्मार्टफोनमध्ये एक तिहाइ यही समयमा बिक्री हुने गर्दछन् ।
यद्यपि भारतीय स्मार्टफोन बजारमा जम्मा २ प्रतिशत मात्र हिस्सा एप्पलको रहेको छ । एप्पलका महँगा प्रडक्टहरु अधिकांश भारतीय प्रयोगकर्ताहरुको रोजाइमा पर्न सकेका छैनन् । जबकी चिनियाँ ब्राण्डका सस्ता स्मार्टफोनहरुले त्यहाँको ७२ प्रतिशत बजार ओगटेका छन् । (एजेन्सी)







