टेक्ससमा भेटियो मष्तिष्क खाने जीवाणू

असोज १२, काठमाडौं ।
अमेरिकाको टेक्सस राज्यको पानीमा मष्तिष्क खाने जीवाणू भेटिएको छ । उक्त सहरको सार्वजनिक पानी आपूर्ति प्रणालीमा यस्तो सुक्ष्मजीव भेटिएको बताइएको छ ।

टेक्ससको लेक ज्याक्सनका बासिन्दालाई धाराको पानी नखान चेतावनी दिइएको छ । त्यहाँको पानीमा नेग्लेरिया फाउलेरी नामक जीवाणू भेटिएको हो । यस्तो सूक्ष्म जीवले अमिबाले दिमागमा घातक संक्रमण गर्नसक्ने बताइएको छ ।

यद्यपि यस्तो संक्रमण अमेरिकामा निकै कम देखिएको छ । सन् २००९ देखि २०१८ सम्म यस्ता संक्रमण ३४ वटा देखिएका थिए । २७ हजार भन्दा बढी मान्छे उक्त क्षेत्रमा बसिरहेका छन् ।

त्यहाँका बासिन्दालाई पानी तताएर खान र नुहाउने बेला पानी नाकमा नपरोस् भनेर ध्यान दिन स्थानीय अधिकारीहरूले सचेत गराएका छन् । त्यहाँको सेन्टर फर सेन्ट्रल डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले यो दूषित पानीबाट हुने र मान्छेबाट मान्छेमा नसर्ने बताएको छ ।

स्थानीय ६ वर्षिय बालकको सूक्ष्म जीवको संक्रमणबाट मृत्यु भएपछि त्यहाँको स्थानीय अधिकारीले यस विषयमा अनुसन्धान थालेका थिए । यो संक्रमण भएको मान्छेको प्रायः एक साताभित्र मृत्यु हुने अध्ययनले देखाएको छ । (एजेन्सी)