असोज १३, काठमाडौं ।
विश्व स्वास्थ्य संगठनले केही मिनेटभित्रै कोरोना संक्रमण रहे नरहेको पत्ता लगाउने उपकरण मध्यम तथा कम आय भएका मुलुकमा बाँड्ने बताएको छ । स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका मुलुकमा कोभिड–१९ पत्ता लगाउने यो प्रविधिको उच्च विस्तार गरिने डब्लुएचओले जनाएको छ ।
यस्तो उपकरण बनाउने उत्पादकसँग १२ करोड वटा यस्ता उपकरण खरिद गर्न लागिएको छ । संगठनले ६ महिनाभित्र निर्धारित संख्यामा उपकरण दिनेगरी उत्पादकसँग सम्झौता गरेको बताएको छ । यस्तो परीक्षण उपकरणको उत्पादन लागत प्रतिकिट झन्डै पाँच डलर पर्ने बताइएको छ ।
परीक्षणका लागि स्वाब दिएपछि लामो समय कुर्नुपर्ने हुँदा भारत, मेक्सिको जस्ता उच्च संक्रमण भएको देशमा समस्या भइरहेको स्वास्थ्य संगठनको ठहर छ । सोमबार पत्रकार सम्मेलनमा बोल्दै संगठनका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘नयाँ, सजिलै बोकेर हिँड्न सकिने र प्रयोग गर्न सजिलो परीक्षणले कयौं घन्टा वा दिनको सट्टा १५ देखि ३० मिनेटभित्रै नतिजा दिन्छ ।’
यसका लागि औषधि निर्माता कम्पनीहरू एब्बो र एसडी बायोसेन्सरले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि १२ करोड परीक्षण उपकरण दिन तयार भएको बताइएको छ । उक्त कम्पनीसँग भएको सम्झौता अनुसार यी परीक्षण उपकरण १ सय ३३ देशमा पुग्नेछन् । (एजेन्सी)






