असोज १३, काठमाडौं ।
विद्युतीय माध्यमबाटै राजश्व भुक्तानी गर्न मिल्ने प्रविधि सुरु भएको छ । भदौ १८ मा बसेको मन्त्रीपरिषद् बैठकले ‘राजश्व व्यवस्थापन सूचना प्रणालीमा विद्युतीय भुक्तानी सम्बन्धी सेवा प्रदायक संस्थालाई आबद्ध गर्ने निर्देशिका २०७७’ स्वीकृत गरेसँगै यो प्रणालीको सुरुआत भएको छ ।
सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा विद्युतीय माध्यमबाट राजश्व बुझाउन सक्ने प्रणाली कार्यान्वयनमा ल्याएको छ । अब विद्युतीय माध्यमबाटै करदाताले राजश्व दाखिला गर्न सक्ने भएका छन् ।
सरकारले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी कार्ड (डेविट वा क्रेडिट कार्ड, ईमनी (वालेट्स) र अन्तर बैंक भुक्तानी (वास्तविक समय भुक्तानी प्रणाली, राष्ट्रिय भुक्तानीद्वार र अन्तर बैकिङ भुक्तानी आवद्धतालगायत)लाई विद्युतीय भुक्तानीका माध्यम मानेको छ ।
नेपाल सरकार तथा प्रदेश सरकारको राजस्व संकलन, लेखांकन तथा प्रतिवेदनलाई व्यवस्थित गर्न, सरकारी नगद प्रवाहलाई सरल, मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउँदै विद्युतीय जोखिम न्यूनीकरण गर्न यस्तो निर्देशिका ल्याएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार सरकारले स्वीकृत गरेसँगै अब राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएमा विद्युतीय भुक्तानी सेवा प्रदायकसमेत) आवद्ध भएका हुन् ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार राजस्व आर्जन गर्ने कार्यालय (आन्तरिक राजस्व विभाग, लोक सेवा आयोग, कम्पनी रजिष्ट्रारको कार्यालयलगायत)को राजस्व व्यवस्थापन सूचना प्रणालीसँग आवद्ध भएको छुट्टै सूचना प्रणाली भए सो वा राजस्व भुक्तानी गर्ने वेबपोर्टल ‘राजस्व डट एफसीजीओ डट जीओभी डट एनपी’मा राजस्व जम्मा गर्ने व्यक्ति वा राजस्व पाउने कार्यालयले एक राजस्व भौचर सिर्जना गर्नुपर्ने छ ।
यसका लागि निर्देशिकाले भौचरको ढाँचासमेत बनाएको छ । यसरी सिर्जना भएको राजस्व भौचरको जानकारी सोही प्रणालीमार्फत राजस्व व्यवस्थापन सूचना प्रणालीबाट छनोट भएको विद्युतीय भुक्तानी सेवा प्रदायकलाई उपलब्ध गराउनु पर्नेछ ।
राजस्व भौचरमा राजस्व आर्जन गर्ने कार्यालयको नाम, कार्यालय कोड, इबीपी नम्बर, राजस्व भुक्तानी गर्ने व्यक्ति वा निकायको नाम, रकम, राजस्व जम्मा हुने बैंक र खाता नम्बरसहित आवश्यक विवरण भर्नुपर्ने भएको छ । यसरी राजस्व भुक्तानी गर्ने विद्युतीय पोर्टलबाट भुक्तानीका लागि प्राप्त सूचनाका आधारमा भुक्तानी सेवा प्रदायक संस्थाले भुक्तानीका लागि राजस्व संकलन गर्ने बैंकमा विद्युतीय माध्यमबाटै भुक्तानीसम्बन्धित सूचना पठाउने छन् । यो प्रक्रिया पूरा नगरी सीधै राजस्व खातामा पठाउन नपाइने गरी निर्देशिका बनेको छ ।
विद्युतीय भुक्तानी सेवा प्रदायकबाट आएको सूचनाका आधारमा राजस्व संकलन गर्ने बैंकले राजस्व व्यवस्थापन सूचना प्रणालीमा राजस्व संकलनको अभिलेख राख्नु पर्ने भएको छ । राजस्व संकलन हुने बैंकले राजस्व प्राप्तीको सूचनाका आधारमा राजस्व संकलन गर्ने कार्यालयको स्वचालित प्रणालीबाटै राजस्व प्राप्तीको यकिन हुने भएको छ ।
विद्युतीय भुक्तानीका लागि राजस्व जम्मा गर्ने व्यक्ति तथा निकायले राजस्व आर्जन गर्ने निकायको सूचना प्रणाली वा राजस्व भुक्तानी गर्ने विद्युतीय पोर्टल ‘राजस्व डट एफसीजीओ डट जीओभी डट एनपी’मार्फत विभिन्न भुक्तानी सेवा प्रदायक वा भुक्तानी सेवा संचालक संस्थामार्फत राजस्व संकलन गर्ने बैंकमा रकम बुझाउनु पर्छ ।
‘राजस्व डट एफसीजीओ डट जीओभी डट एनपी’मा विवरण भरिसकेपछि विद्युतीय कारोबार संकेत नम्बरसहितको बैंक भौचर प्राप्त गर्नुपर्छ । विद्युतीय भुक्तानीमा रकम ट्रान्सफर हुन नसकेमा भने सम्बन्धित सेवा प्रदायक र बैंकमा सम्पर्क गर्ने दायित्वसमेत करदाताको हुने गरी निर्देशिका बनेको छ ।







