तातोपानी नाका असोज १९ बाट सञ्चालन हुने

असोज १४, सिन्धुपाल्चोक ।
सरकारले असोज १९ बाट सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन गर्ने तयारी गरेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालले ५ अक्टोबरदेखि चीनका सामान नेपाल आउने जानकारी दिए ।

ल्हासाको फरेन अफिसका डेपुटि डाइरेक्टर र नेपालबाट गएको प्रमुख जिल्ला अधिकारीको टोलीले असोज १९ बाट नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति गरेको हो । उनले सेप्टेम्बर ४ सम्म चिनियाँ पक्षले आन्तरिक तयारी गर्ने बताए ।

नाका खुल्ने दिनसम्म नेपाली पक्षले सामान लोड अनलोड गर्ने टोली तयारी अवस्थामा राख्नेछ । तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले पिसिआर नेगेटिभ भएको दुई दर्जन भन्दा बढी सदस्य रहेको दुई टोली तयार अवस्थामा राखिने जानकारी दिए ।

नेपालतर्फ पहिरो खसेका कारण असार २४ देखि नेपाली पक्षकै आग्रहमा उक्त नाका बन्द गरिएको थियो । सडक मर्मत भए पनि हिमताल फुट्ने जोखिम रहेको भन्दै चिनियाँ पक्षले नाका खोल्न आनाकानी गरिरहेको थियो ।