नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिब तिवारीले आफु सिङ्गो समाजको लडाइँ लडिरहेको बताएका छन् । आज बिहानै आफ्नो सामजिक सन्जाल मार्फत अभिब्यक्ती दिने क्रममा उनले भनेका छन् ” आज मलाई एउटा अकाट्य सत्य स्पष्ट भएको छः आज मैले लड्नु परेको लडाइँ सिङ्गो समाजको लडाइँ हो।” अभिब्यक्ती को शुरुमा उनले सबै तप्काकलाई धन्यबाद दिदै भनेका छन् “सर्वप्रथम म देश–विदेशका मेरा आदरणीय अग्रज, प्रिय चिकित्सक मित्रहरू, सम्पूर्ण पेशाकर्मीहरू, आम नागरिकहरू, समाजका अगुवा, र सामाजिक सञ्जालमार्फत आवाज उठाउनुहुने सबैप्रति हृदयको गहिराइबाट आभार व्यक्त गर्न चाहन्छु।”
उनि अगाडी लेख्छन्, “हालै ममाथि लगाइएको अन्यायपूर्ण आरोप विरुद्ध मप्रति देशव्यापि र अन्तर्राष्ट्रिय स्तरसम्म जुन अभूतपूर्व साथ, समर्थन र ऐक्यबद्धता प्राप्त भएको छ त्यसले मलाई भावविभोर बनाएको छ। तपाईंहरूको यो अपार समर्थनले मलाई मात्र होइन चिकित्सा पेशामा समर्पित हजारौँ स्वास्थ्यकर्मीहरूलाई पनि आत्मबल, हिम्मत र न्यायका लागि लड्न अतुलनीय ऊर्जा दिएको छ।”
केहि दिन पहिले उपभोक्ता हित संरक्षण मञ्चले उनि बिरुद्ध एक वर्षसम्म कैद र १० हजार जरिवाना सजाय माग गर्दै अवहेलनाको मुद्दा हालेको थियो। मञ्चले उपभोक्ता अदालतको फैसलाको पूर्णपाठ नआउँदै आदेशका विषयमा टिप्पणी गरेको, चिकित्सक संघको महासचिवका नाममा विज्ञप्ति जारी गर्दै अदालतको अवहेलना गरेको कुरा निबेदनमा उल्लेख गरेको थियो ।
वर्षा भण्डारीले आफ्नो उपचारमा लापरबाही भएको दाबी गर्दै उपचारमा संलग्न चिकित्सक र अस्पतालमाथि ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरी गत चैत ११ गते दर्ता भएको मुद्दा उपर फैसला गर्दै अदालतले ग्राण्डी सिटी अस्पतालमा कार्यरत डा. सन्जिव त्रिपाठीले ४० लाख ३ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो । अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत डा. संजिव त्रिपाठी र ३० प्रतिशत अर्थात १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डी हस्पिटलले बेहोर्नुपर्ने छ ।
उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यहरु गेहेन्द्रराज रेग्मी र आन्नदराज पोखरेलको इजलासले अस्पताल र चिकित्सकले ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । त्यसैको सन्दर्भमा नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले बिज्ञप्ती जारी गर्दै बिरोध जनाएको थियो ।
फल स्वरुप नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिब तिवारीविरुद्ध उच्च अदालत पाटनमा अवहेलना मुद्दा पर्यो ।
चिकित्सकहरुले उनको समर्थनमा सामाजिक सञ्जाल मार्फत ‘म पनि सन्जिब तिवारी’ भन्ने अभियान नै चलाएका छन्। डा. तिवारीको तस्बिर राखेर म पनि सन्जिब तिवारी लेखिएको तस्बिर चिकित्सकहरुले समाजिक सञ्जालमा राखेर सेयर गरिरहेका छन्।
उनको अभिब्यक्ती जस्ताको त्यस्तै
आदरणीय अग्रज एवं प्रिय मित्रहरु,
सर्वप्रथम म देश–विदेशका मेरा आदरणीय अग्रज, प्रिय चिकित्सक मित्रहरू, सम्पूर्ण पेशाकर्मीहरू, आम नागरिकहरू, समाजका अगुवा, र सामाजिक सञ्जालमार्फत आवाज उठाउनुहुने सबैप्रति हृदयको गहिराइबाट आभार व्यक्त गर्न चाहन्छु। हालै ममाथि लगाइएको अन्यायपूर्ण आरोप विरुद्ध मप्रति देशव्यापि र अन्तर्राष्ट्रिय स्तरसम्म जुन अभूतपूर्व साथ, समर्थन र ऐक्यबद्धता प्राप्त भएको छ त्यसले मलाई भावविभोर बनाएको छ। तपाईंहरूको यो अपार समर्थनले मलाई मात्र होइन चिकित्सा पेशामा समर्पित हजारौँ स्वास्थ्यकर्मीहरूलाई पनि आत्मबल, हिम्मत र न्यायका लागि लड्न अतुलनीय ऊर्जा दिएको छ।
तर यो मुद्दा एक जना व्यक्तिको मात्र होइन। यो हामी सबैको साझा अस्तित्व, मर्यादा र सामाजिक न्यायको आधारभूत सवाल हो। म आफ्नो देशको कानून, खासगरी उपभोक्ताका हकहितसम्बन्धी कानूनको पूर्ण सम्मान गर्दछु। साथै, नेपालका हरेक पेशाकर्मी र श्रमिकको हकहितको संरक्षणप्रति पनि म उत्तिकै सचेत छु। म सधैँ निष्पक्षताको पक्षमा अटल छु र हरेक अन्यायका विरुद्धमा डटेर उभिनेछु। हाम्रो गौरवमय संविधान र कानुनको सम्मान गर्दै लोकतान्त्रिक अधिकारको रक्षाका लागि यो मेरो अविचलित संघर्ष हो। आज मलाई एउटा अकाट्य सत्य स्पष्ट भएको छः आज मैले लड्नु परेको लडाइँ सिङ्गो समाजको लडाइँ हो। यो लडाइँ हामी सबैको पेशागत स्वतन्त्रता, निष्ठा र जिम्मेवारीको पवित्र संरक्षणका लागि हो। आज जतिजति आवाजहरू उठेका छन् र सामाजिक सञ्जालमा लेखिएका पोस्टहरू, टेलिफोन सन्देशहरू, मिडियामार्फत भएको समर्थन, संघसंस्थाबाट आएको ऐक्यबद्धता आदि सबैले हामी एक ढिक्का छौँ भन्ने महसुस गराएको छ।
म यो अवसरमा पूर्ण प्रतिवद्धता व्यक्त गर्न चाहन्छु कि म पेशाको गरिमा र निष्पक्षताको रक्षा गर्न जीवनको अन्तिम श्वाससम्मसम्म लड्नेछु। सत्य र न्यायको पक्षमा मेरो आवाज कहिल्यै थाक्ने छैन बरु झन् बुलन्द हुनेछ। तपाईंहरूको यो अविस्मरणीय ऐक्यबद्धता नै मेरो आत्मबलको स्रोत हो र मेरो मार्गदर्शक शक्ति हो। म सबैलाई फेरि एक पटक विनम्रतापूर्वक आह्वान गर्न चाहन्छु हामी यसरी नै सदा न्याय र सत्यका पक्षमा दृढतापूर्वक उभिन सकौँ।
यसै सन्दर्भमा म स्वतन्त्र प्रेस, पत्रकार मित्रहरू र सम्पूर्ण सञ्चारजगतलाई समेत विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु, जसले सत्यको खोजीमा जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्दै आमजनलाई तथ्यमा आधारित सूचनासमेत प्रदान गर्नुभएको छ। तपाईंहरूको निर्भीक र निस्पक्ष आवाजले न्यायको पक्षमा माहोल निर्माण गर्न मद्दत गरेको छ। यस्तो ऐक्यबद्ध प्रयासले नै लोकतन्त्रको मेरुदण्ड बलियो बनाउँछ भन्ने विश्वास मैले पाएको छु।
हाम्रो यो साझा संघर्ष आजको लागि मात्र होइन, भविष्यका पुस्ताका लागि पनि एक सशक्त सन्देश बन्नुपर्छ। जब अन्याय हुन्छ, हामी सत्यका पक्षमा र अन्याय विरुद्ध एक जुट हुन्छौं। आज म एकजना पेशाकर्मीको हैसियतले होइन तपाईंहरूकै विश्वासिलो प्रतिनिधिको रूपमा बोलिरहेको छु। आज मलाई परेको अन्याय भोलि जो कोहीलाई पनि पर्न सक्छ। तपाईंहरूको ममाथिको सद्भाव, माया, अटूट विश्वास र अविचल समर्पणका लागि पुनः एकपटक हृदयदेखि धन्यवाद व्यक्त गर्दछु।
धन्यवाद।
डा. सन्जिब तिवारी
महासचिव, नेपाल चिकित्सक संघ








