काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीलाई नारायणकाजी श्रेष्ठले “जिम्मेवार” बन्न आग्रह का साथै प्रधानमन्त्री जस्तो जिम्मेवारीमा भएको व्यक्तिले के बोल्ने के नबोल्ने भन्ने कुरामा गम्भीर ध्यान दिनु पर्ने बिषय उठान गरेका छन् । आज सामाजिक सन्जाल फेसबुक मार्फत नेता श्रेष्ठले प्रधानमन्त्री कार्कीलाई उक्त सुझाब दिएको हो । हिजो प्रधानमन्त्री सुशीला कार्कीले वि वि सी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा निर्वाचन सम्पन्न गर्ने अवधि १५ दिन ,२ महिना थप पनि हुन सक्छ भन्ने कुरा उल्लेख गरेकी थिईन् ।
हेर्नुहोस् नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको अन्तर्बार्तालाई लिएर गरेको टिप्पणी
प्रधानमन्त्रीज्यू ,तपाईं अहिले अत्यन्त संवेदनशील परिस्थितिमा देशको कार्यकारी प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।हामीले भनेका छौं ,अहिलेको मुलुकको केन्द्रीय कार्यभार घोषित मितिमा आम निर्वाचन सम्पन्न गर्नु हो ।त्यसैले अन्तरिम सरकारलाई त्यस उद्देश्यका निम्ति सफल पार्न सबैले सहयोग गर्नु पर्दछ ।हामी त्यसमा प्रतिबद्ध छौं । तर तपाईंले पनि प्र म जस्तो जिम्मेवारीमा भएको व्यक्तिले के बोल्ने के नबोल्ने भन्ने कुरामा गम्भीर ध्यान दिनु पर्ने हुन्छ । कम बोल्नुस् । काममा केन्द्रित हुनुहोस्।बोल्नै पर्दा पनि गलत नबोल्नुहोस्। गल्ती बोलेको कुरा कुनै सच्याईहाल्नुस र कुनै अब आइन्दा त्यस्तो गल्ती नदोहर्यानुस्।तपाईंले वि वि सी नेपाली सेवालाई दिनुभएको अन्तर्वार्तामा निर्वाचन सम्पन्न गर्ने अवधि १५ दिन ,२ महिना थप पनि हुन सक्छ भन्नुभएको छ ।तपाईंलाई त्यो कार्यादेश छैन ।निर्वाचन मिति १ दिन पनि पर धकेल्न मिल्दैन । तपाईंले अहिले देखि त्यसरी सोच्नु र सार्वजनिक समेत गर्नु घातक साबित हुन सक्छ । निर्धारित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश गम्भीर सङ्कटमा धकेलिन सक्छ भन्ने कुरामा ध्यान दिनुहोस ।अन्यथा सोच्न , गर्न मिल्दैन ।सोही अन्तर्वार्तामा तपाईंले प्र म ले पालना गर्नु पर्ने आचार संहिता पनि उल्लंघन गर्नु भएको छ । तपाईंले राष्ट्रपतिले तपाईंलाई ( प्र म लाई ) सबै राजनीतिक दलहरुको तर्फबाट एक एक जना व्यक्ति सरकारमा प्रतिनिधित्व गराउन सल्लाहा दिनु भएको र आफूले नमानेको उल्लेख गर्नुभएको छ । विषयको हिसाबले म प्रधानमन्त्रीज्यू सँग सहमत छु र मैले मन्त्रिपरिषदमा मन्त्रीहरु थप गर्नु अघि सार्वजनिक रुपमा नै राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र , निष्ठावान , स्वच्छ, देशभक्त एवं क्षमतावान व्यक्तिहरूलाई सामेल गरेर छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस भनेको पनि थिएँ। तर राष्ट्रपतिले तपाईंलाई सल्लाहा दिनुभएको कुरा त्यसरी हलुका रुपमा सञ्चार माध्यम मार्फत सार्वजनिक गर्न मिल्दैन ।हामी देशलाई बचाउन ,संविधान र लोकतन्त्रको रक्षा गर्न घोषित मिति फागुन २१ मा शान्तिपूर्ण ,स्वच्छ एवं निष्पक्ष निर्वाचन गर्ने गरी यो सरकालाई सफल बनाउनु पर्छ भनेर लागिरहेका छौं ।तर तपाईं र सरकार नै यस सम्बन्धमा सबभन्दा बढी स्पष्ट , दृढ र गम्भीर हुनु पर्ने आवश्यकता छ ।यस तर्फ समयमै तपाईंको ध्यानाकर्षण गराउन चाहान्छु । समयमै निर्वाचन सम्पन्न गर्ने कार्यबाट विचलित हुनुभयो भने वा राष्ट्रिय सार्वभौमिकता ,संविधान र लोकतन्त्रलाई कमजोर पार्ने कार्य भयो भने त्यो ठूलो दुर्भाग्य हुनेछ । गम्भीर हुनुहोस्।







