काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा सरुवा गरेको छ ।
एसएसपी हुँदा केसीलाई २०७९ पुस २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा दिइएको थियो। उनले तत्त्कालिन गृहमन्त्री नारायण काजी श्रेष्ठको पालामा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका थिए । यता जिल्ला प्रहरी परिसर काठमाडौंमा दानबहादुर कार्की थिए। यी दुवैले सात महिना मात्र प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न पाएका थिए। कांग्रेसको समर्थनमा बनेको सरकारमा रहेकाले दबाब भएपछि केसी र कार्की दुवैलाई २०८० भदौ ४ गते सरूवा गरिएको थियो।
उनी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको हो ।







