काठमाडौं । सन् १९९६ बाट मनाउन सुरु भएको विश्व अण्डा दिवस आज नेपालमा पनि मनाइदैछ । नेपाल भेटेरिनरी एशोसिएसनले “शक्तिशाली अण्डा: प्राकृतिक पोषणको खानी” भन्ने नाराका साथ आज बिभिन्न संघ संस्थासँग मिलेर मनाउन गईरहेको छ ।
दिवसको पूर्व सन्ध्यामा नेपाल भेटेरिनरी एशोसिएसनका महासचिव डा. शंकर न्यौपानेद्वारा जारी बिज्ञप्ती अनुसार आज चितवनमा हुन गईरहेको मुल समारोहमा भेटेरिनरीयन, कृषक, पोल्ट्री व्यवसायी, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवाला व्यक्तिहरूको सहभागिता रहनेछ।
कार्यक्रममा अन्तरक्रिया, प्रस्तुतिकरण, प्यानल छलफल तथा लक्षित समुदायका लागि अण्डा वितरण जस्ता क्रियाकलापहरू समावेश गरिएका छन्। विश्व अण्डा दिवस सन् १९९६ मा अष्ट्रियाको भियना शहरमा सम्पन्न अन्तर्राष्ट्रिय अण्डा आयोग को महासभाले स्थापना गरेको हो । विश्व अण्डा दिवस अण्डाको पोषण, स्वास्थ्य र उत्पादनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले मनाइने दिवस हो।








