महामारी सुरु भए यता सय भन्दा बढी अमेरिकी सैनिकले गरे आत्महत्या

असोज १६, काठमाडौं ।
कोरोना भाइरसको महामारी सुरु भएको मार्चदेखि अगष्ट ३१ सम्म ड्युटीमा रहेका १ सय १४ अमेरिकी सैनिकले आत्महत्या गरेको देखिएको छ । गत वर्ष यही अवधिमा ८८ जनाले आत्महत्या गरेका थिए ।

वर्षको पहिलो ८ महिनामा भएको आत्महत्याको यो संख्या सन् २०१२ यताकै धेरै भएको बताइएको छ । गत मार्चयता आत्महत्याको संख्यामा यो निकै वृद्धि भएको अधिकारीहरूले बताएका छन् ।

गार्ड तथा रिजर्भ फोर्ससहित भने मार्चयता आत्महत्या गर्ने सैनिकको संख्या दुई सय छ । सन् २०१९ को सोही अवधिमा १ सय ६६ जनाले आत्महत्या गरेका थिए । पेन्टागनले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्ष ३ सय २४ सैनिकले आत्महत्या गरेकोमा २०१९ मा ३ सय ४२ सैनिकले आत्महत्या गरेका थिए ।

अघिल्ला वर्ष आत्महत्या गर्ने सैनिकको दर प्रति १० लाख सैनिकमा ३०.६ थियो भने सन् २०२० मा यो दर बढेर ३६ पुगेको छ । कोरोना भाइरसका कारण एक्लो महसुस गरेका सैनिकहरुमा आत्महत्याको प्रवृत्ति बढेको अनुमान गरिएको छ । ड्युटीमा रहेका सैनिकको आत्महत्या दर वृद्धि चिन्ताजनक भएको बताइएको छ । (एजेन्सी)