इसेवा र फोनपेबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट

असोज १८, काठमाडौं ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न बिग मार्ट र फोनपेले सहकार्य गर्ने भएका छन् । डिजिटल माध्यमबाट ‘इसेवा’ तथा ‘फोनपे’ बाट ‘बिग मार्ट’मा खरिद गरेको सामानको मूल्य तिर्दा २५ प्रतिशतसम्म छुटको ‘अफर’ ल्याएका छन् ।

धेरै अघि नै यस्तो अफर ल्याउने भनिए तापनि पछिल्लोपटक सरकारले लगाएको निषेधाज्ञाका कारण बिगमार्ट लगायतका स्थान बन्द हुँदा कार्यान्वयन हुन सकेको थिएन । अब असोजभर यो अफर लागू हुने बताइएको छ ।

बिगमार्टका ५० वटै स्टोरबाट बिहान र बेलुका फलफूल तथा तरकारी खरिद गर्दा फोनपे र इसेवाबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट दिइनेछ । दिउँसो ११ देखि ४ बजेसम्म मार्टबाट केही सामान खरिद गरी उल्लिखित एपबाट अनलाइन भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइनेछ ।

अधिकतम तीन सय रूपैयाँसम्म छुट दिइने मार्टले बताएको छ । कोरोना महामारी कारण अनलाइन भुक्तानी बढेको बेला यसैलाई प्रोत्साहन गर्न यो योजना ल्याएको तीनै संस्था मिलेर जारी गरेको विज्ञप्तीमा बताइएको छ ।