उडान संख्या थपिएसँगै हवाइ भाडा सस्तिन सक्ने

असोज १८, काठमाडौं ।
सरकारले हवाइ उडानको संख्या थपेसँगै यात्रुलाई भाडादर सस्तो पर्न जाने भएको छ । सरकारले असोज ५ मा पूर्ण क्षमतामै उडान भर्न दिने निर्णय गरेको थियो । तर २५ प्रतिशत उडानको अनुमति मात्र दिइएको थियो ।

तर सरकारले बिहीबारदेखि उडान संख्या थप्न दिने निर्णय गरेसँगै हवाइ कम्पनीबीच यात्रु तान्ने प्रतिस्पर्धा देखिने एक निजी हवाइ सञ्चालक बताउँछन् । यसले यात्रुले कम भाडादरमै हवाइ यात्रा गर्न पाउने अवस्था आउन सक्ने उनले बताए ।

हाल सञ्चालन भइरहेका सबै फ्लाइटमा यात्रु पर्याप्त छन् । अहिले काठमाडौंदेखि धनगढी ४५ सय र भैरहवा २५ सय रूपैयाँमा झरिसकेको छ । बुद्ध, यति, श्री, सीता र समिट जस्ता निजी वायूसेवा कम्पनीले उडान संख्या थपेका छन् ।

बिहीबारदेखि थप १९ वटा उडान थपिँदा दैनिक २९ उडान भइरहेको बुद्ध एयरले जनाएको छ । सबै उडानमा यात्रु संख्या उल्लेख्य रहने गरेको छ । ‘२९ वटा उडानमार्फत कम्पनीले बिहीबार मात्र ३३ सय २० जनालाई सेवा दिएको छ,’ कम्पनीका प्रवक्ता रुपेश जोशीले भने, ‘उडान खुलेको पहिलो चरणको तुलनामा यात्रु संख्या केही कम भए पनि चहलपहल उल्लेख्य छ । प्राय विराटनगर र भद्रपुर लगायतको गन्तब्यमा यात्रुको चाप छ ।’

विभिन्न वायुसेवा कम्पनीले उडान संख्या बढाएसँगै भाडादर घट्ने सम्भावना रहेको उनले बताए । यसअघि काठमाडौं–विराटनगरका लागि ३७ सय रूपैयाँसम्म भाडादर कायम गरेको कम्पनीले आउँदो दिन यो गन्तब्य उडानका लागि तीन हजार रुपैयाँ निर्धारण हुने प्रक्षेपण गरेको छ ।

कम्पनीले सार्वजनिक प्याकेजका लागि पछिल्लो समय पोखरा भ्रमणका लागि बुकिङ सुरु हुन थालेको जनाएको छ । जोशीका अनुसार हालसम्म पोखरा भ्रमणका लागि पाँच वटा बुकिङ भइसकेका छन् ।

विभिन्न गन्तब्यमा दैनिक १५ उडानको अनुमति पाएको श्री एयरलाइन्सले शनिबारदेखि उडान गन्तब्य थप्ने योजना रहेको प्रवक्ता अनिल मानन्धरले बताए । आन्तरिक उडान खुलेदेखि दैनिक धनगढी र नेपालगञ्ज उडान सुचारु गरेको श्रीले शनिबारदेखि नेपालगञ्ज र धनगढीसँगै भैरहवा, विराटनगर र भद्रपुर लगायत गन्तव्यमा उडान गर्ने योजना रहेको उनले जानकारी दिए ।

तत्काल राजविराज उडान गर्ने योजना नबनाएको श्रीले आगामी सातादेखि काठमाडौं–सिमराका लागि भने उडान गर्ने योजना बनाएको छ ।

दैनिक १९ उडान अनुमति पाएको यती एयरलाइन्सले बिहीबार विभिन्न गन्तव्यका उडानमार्फत १६ सय २० यात्रुलाई सेवा दिएको जनाएको छ । उडान संख्या बढाएसँगै यात्रुको संख्या उल्लेख्य रहेको कम्पनीका प्रवक्ता एवं एभिएसन सेक्युरिटी चिफ सुदर्शन बर्तौलाले बताए । ’अहिले प्राय गन्तब्यमा लो सिलीङमा भाडादर निर्धारण हुन थालिसकेको छ,’ उनले भने ।

आउँदो सातादेखि सिमराका लागि पनि नियमित उडान गर्ने योजनामा यती एयर छ । यतीले काठमाडौं–पोखरा उडानका लागि यतिखेर १८ सय ५० रुपैयाँ भाडा निर्धारण गरेको छ भने भरतपुरका लागि २८ सय ५० रुपैयाँ निर्धारण गरेको जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको भ्रमण प्याकेजमध्ये ’एभरेष्ट’ का लागि बुकिङ हुन थालिसकेको बर्तौलाले बताए । ’बुकिङ त उल्लेख्य रूपमा भइरहेको छ । तर गन्ती प्याकेज खरिदलाई मानिन्छ । यो भ्रमण प्याकेज लिने आन्तरिक पर्यटक बढेका छन् । विशेष गरी दसैं र तिहार बीचको समयमा भ्रमणमा जाने आन्तरिक पर्यटकको माग बढेको छ,’ उनले भने ।

यतिबेला सार्वजनिक सेवाका बसहरूमा लामो दुरीको यात्रा गर्नेहरू निकै कम छन् । स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाइसँगै यात्रु आफैं कोरोनाको त्रासमा रहेकाले सडक यातायातको प्रयोग घट्दा हवाई सेवामा चाप देखिएको हो । दसैंका लागि बसको टिकट बुकिङका लागि गोंगबुस्थित नयाँ बसपार्कमा यसपटक भीड नदेखिनुले पनि हवाइ सेवा प्रयोगकर्ता बढेको पुष्टि गर्छ ।

भेटघाट कम गर्ने र सामाजिक दुरी बढाउने गर्दै आए पनि कोरोना संक्रमणको दिनहुँ बढ्दो दरका कारण सार्वजनिक सवारीमा यात्रा गर्न सर्वसाधारण हच्किएका छन् । त्यसैले बसहरूमा फाट्टफुट्टमात्रै यात्रु देखिन्छन् । सकभर यात्रा नगर्ने, गर्नु परे खर्चिलो भए पनि हवाई सेवा प्रयोग गर्नेहरू बढेका छन ्। यसको फाइदा हवाई सेवा कम्पनीहरूलाई भएको छ ।