असोज १८, काठमाडौं ।
‘विद्यार्थीहरूको नोबेल पुरस्कार’ भनेर पनि चिनिने ‘हल्ट प्राइज’ यस वर्ष पूर्वाञ्चल विश्वविद्यालयमा पनि हुने भएको छ । उक्त विश्वविद्यालय अन्तर्गतको हिमालयन कलेज अफ एग्रिकल्चर एन्ड टेक्नोलोजी (हिकास्ट)मा यो आयोजना हुन लागेको हो ।
यस प्रतियोगितामा विजेताले १० लाख अमेरिकी डलर अर्थात् नेपाली एक करोड रूपैयाँभन्दा बढी पुरस्कार जित्ने मौका पाउँछन् । प्रतियोगितामा विभिन्न क्रियाकलापका आधारमा विजेता घोषित गरिन्छ ।
हल्ट प्राइजलाई उद्यमशील विद्यार्थीहरुका लागि व्यावसाय विकास र विस्तार गर्ने अवसरका रूपमा लिइन्छ । अन्तर्राष्ट्रिय खुल्ला प्लाटफर्म भएकाले उद्यमी वा व्यवसायमा लाग्न चाहने विद्यार्थीका लागि यो ठूलो अवसर भएको हल्ट प्राइज हिकास्टकी निर्देशक कामना काफ्लेले बताइन् ।
स्टार्ट अप आइडिया भएका विद्यार्थीलाई देश विदेशका उद्यमी र सफल व्यवसायीसँग निकट सम्बन्ध स्थापित गराउन यो प्रतियोगिता उपयोगी हुने उनले दाबी गरिन् । हल्ट प्राइजअन्तर्गत चार विभिन्न चरण हुने र पहिलो ‘अन क्याम्पस’ भएको उनले बताइन् । यो चरण विश्वका विभिन्न विश्वविद्यालय र क्याम्पसहरुमा हुने गर्छ ।
यस प्रतियोगितामा सहभागी प्रतिस्पर्धीलाई विभिन्न ट्रेनिङ, वर्कसप, सेमिनार दिइ स्टार्ट अप आइडियाको विकास गरी व्यवसायमा बदल्न सहयोग पुग्ने गरी परिस्कृत गरिने काफ्लेले बताइन् ।
अन क्याम्पस विजेता दोस्रो चरणमा रहेको क्षेत्रीय तहको प्रतिस्पर्धामा छनोट हुनेछन् । दोस्रो चरणको विजेतालाई ‘हल्ट प्राइज दि रिजनल’ को उपाधि दिइनेछ । क्षेत्रीय तहका विजेताले एसिलिरेटर अन्तर्गत तेस्रो चरणमा प्रतिस्पर्धा गर्ने मौका पाउने उनले बताइन् ।
६ देखि आठ हप्ता सञ्चालन हुने यस प्रतियोगिताको अन्तिम चरण एसिलिरेसन नाम दिइएको छ । अन्तिम चरणको विजेताले ग्लोबल फाइनान्समा प्रतिस्पर्धाका लागि संयुक्त राष्ट्रसंघको मुख्यालयमै पुगेर आफ्नो आइडिया प्रस्तुत गर्ने मौका पाउने उनले बताइन् । यसमा उत्कृष्ट भएमा प्रतिस्पर्धीले एक करोड रुपैयाँभन्दा बढीको पुरस्कार प्राप्त गर्ने छन् ।
विश्वका एक सय २१ देशका २५ सयभन्दा शैक्षिक संस्थाबाट तीन लाखभन्दा बढी विद्यार्थीले यस प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ । पूर्वाञ्चलसँगै नेपालका अन्य विश्वविद्यालयहरुमा पनि हल्ट प्राइजअन्तर्गतका प्रतियोगिताहरु हुँदै आएका छन् ।







