व्यवसायीको गुनासोपछि पूर्ण सिट क्षमतामा बस चल्न दिनेबारे छलफल

असोज १८, काठमाडौं ।
यातायात व्यवसायीको गुनासोपछि बसका सबै सिटमा यात्रु राखेर चलाउन दिनेबारे मन्त्रालयले छलफल सुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री बसन्तकुमार नेम्बाङले हवाईजहाजमा जस्तै सार्वजनिक बसमा समेत सिट क्षमता जति नै यात्रु राख्नेबारे स्वस्थ्य मापदण्ड संशोधनका लागि प्रस्ताव गरिएको बताएका छन् ।

शुक्रबार संघीय संसद अन्तर्गत विकास तथा प्रविधि समितिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री नेम्बाङले यस्तो बताएका हुन् । उनले हवाई उडान पूर्ण सिट क्षमतामा सञ्चालन भएको तर बस तथा सडक यातायातमा सो व्यवस्था नरहेकाले सरोकारवालाबाट गुनासो आएको बताए । यसै कारण सार्वजनिक यातायात सञ्चालन मापदण्ड संशोधनका लागि कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) मा प्रस्ताव पेस गरिएको उनको भनाइ छ ।

मापदण्ड संशोधन भएर आएपछि भने स्वास्थ्य मापदण्ड अपनाउँदै सार्वजनिक यातायात सामान्य अवस्थामै सञ्चालन हुने बताए । दशैं तिहारसम्म सार्वजनिक यातायात सहज भइसक्ने उनले बताएका थिए । विश्वव्यापी कोरोना महामारी र भारी वर्षाका कारण विभिन्न राजमार्ग तथा पुलहरूमा क्षति पुग्दा सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भए पनि नेपालीहरुको चाडपर्व अगावै सडक यातायात सहज भइसक्ने उनको भनाइ थियो ।

प्राकृतिक विपतलाई रोक्न नसकिए पनि त्यसको व्यवस्थापनमा मन्त्रालय तदारुकताका साथ लागेको मन्त्री नेम्वाङले दाबी गरे । ‘भारी वर्षाका कारण बाटोमा क्षति पुगेको छ । राजमार्गहरू निर्वाध रुपमा सञ्चालन गर्नका लागि मन्त्रालयले चौबिसै घण्टा काम गर्ने योजना बनाएको छ । दुई सय ५० भन्दा बढी स्थानमा निर्माण उपकरण राखेर बाटो सोहोर्ने, पहिरो पन्छाउने काम भइरहेको छ,’ उनले बैठकमा भने ।

बढ्दो कोरोना संक्रमणबीच अस्तव्यस्त अर्थतन्त्रलाई चलायमान गर्न स्वास्थ्य मापदण्ड पालना गर्दै लामो, मध्यम र छोटो दुरीको सवारी साधन खुल्ला गरिएको बताएका थिए । सरकारको निर्णय मात्रले नभइ सेवाग्राही, व्यवसायी, सरोकारवाला सबै अनुशासित भएर संक्रमण फैलन नदिन लाग्नु पर्ने उनको भनाइ थियो ।