विदेशमा कमाएको पैसा सम्पत्ति शुद्धिकरणमा

असोज १८, काठमाडौं ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईले वैदेशिक रोजगारीमा रहेका नेपालीले कमाएको ४० प्रतिशत रकम मात्रै रेमिट्यान्सका रूपमा नेपाल पठाउने गरेको बताएका छन् । उनले बाँकी ६० प्रतिशत रकम सम्पत्ति शुद्धीकरणमा प्रयोग भइरहेको बताए ।

भन्सार विभागको वार्षिक गोष्ठीमा आफ्नो मन्तव्य राख्ने क्रममा महानिर्देशक भट्टराईले व्यापारको माध्यमबाट सम्पत्ति शुद्धीकरणका गम्भीर घटना हुने गरेको बताएका हुन् । ’व्यापारको माध्यमबाट गम्भीर प्रकृतिका सम्पत्ति शुद्धीकरणका घटना भएका छन्,’ उनले भने, ’यसतर्फ छलफल होस् ।’

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । भट्टराईका अनुसार यसको दोब्बरभन्दा ठूलो अंकमा विदेशीले कमाएको पैसा सम्पत्ति शुद्धीकरणमा प्रयोग भइरहेको छ ।

महानिर्देशक भट्टराईले सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग र भन्सार विभागबीच व्यापारिक क्रियाकलापका सूचना आदानप्रदान गरी आपराधिक कृयाकलाप रोक्न सहयोग गर्नुपर्ने धारणा राखे ।