असोज १८, रुपन्देही ।
बुटवलका दर्जनभन्दा बढी स्थानलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधित क्षेत्र तोेकेको छ । ती स्थानमा पाँच जनाभन्दा बढीलाई भेला हुन रोक लगाइएको छ ।
प्रदेश नं. ५ को राजधानी दाङको भालुवाङ राख्ने विषयमा उत्पन्न विवादका कारण प्रदर्शन तथा झडपको स्थिति आएपछि नियन्त्रणका लागि सो कदम चालिएको स्थानीय प्रशासनले जनाएको छ । अस्थायी राजधानी बुटवलमा आइतबारदेखि बुधबार साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
आज प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानीबारे प्रदेश मन्त्रीपरिषद्ले पेश गरेको प्रस्तावउपर छलफल हुनेछ । तर आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा घेराउ गर्ने, विरोध प्रदर्शन गर्ने जस्ता कार्यक्रम गर्ने बताएको छ ।
यस्तोमा कुनै अप्रिय घटना हुन नदिन निषेधाज्ञाको निर्णय गरिएको प्रशासनले बताएको छ । रुपन्देहीका दुर्ई दर्जनभन्दा बढी व्यवसायीक संस्थाले समेत दाङलाई राजधानी तोकिएको विरोधमा बन्दको घोषणा गर्दै कांग्रेसको प्रदर्शनलाई समर्थन गरेका थिए ।
प्रशासनले जारी गरेको सूचना अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न पाइने छैन । यस्तै मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।






