प्राविधिक शिक्षाले फेरिएको जीवन

रञ्जीता अधिकारी /असोज, १८ देउखुरी दाङको गढवा गाउँपालिका वडा नं ७ चन्दनपुरका नरवहादुर चौधरीले प्रवेशिक परीक्षा उत्तीर्णपछि जिल्ला सदरमुकाम घोराहीमा रहेको पद्मोदय पब्लिक माध्यमिक विद्यालयबाट सिभिल इन्जिनियरको (१५महिने) कोर्ष पूरा गरे । प्राविधिक शिक्षा पढ्नुअघि उनलाई विद्युतको बारेमा सामान्य जानकारी मात्र थियो । इलेक्ट्रिकल विषय पढेका चौधरीलाई अहिले कामले भ्याइनभ्याइ छ ।

गाउँघरका साथीहरु कोही विदेश छन् भने कोही स्वदेशमै श्रमिकको रुपमा काम गरिरहेका छन् । उनले प्राविधिक विषय नपढेको भए आफ्नो पनि श्रमिकका रुपमा कामको खोजीमा भौतारिनुपर्ने अवस्था हुन्थ्यो होला भन्छन् । ‘‘बिद्युत वाइरिङको काम भएकाले कहिल्यै पनि खाली बस्नु परेको छैन’’ उनले भने ‘‘हातमा सीप हुने हो भने भोकै वस्नुपर्ने रहेनछ । ’’ उनी आठ जना परिवारको खर्च आफैँले पु¥याएको बताउनुहुन्छ ।

घोराही उपमहानगरपालिका १२ हापुर विजौरी निवासी मुक्त कमलरी कमला चौधरी सानै उमेरबाट नौ वर्ष कमलरी बनेर अर्काको घरमा काम गरिन् । उनलाई कमलरीबाट महिला र बालबालिकाको क्षेत्रमा कामगर्ने एक संस्थाले उद्धार गरेर विद्यालय भर्ना गरिदियो । संस्थाकै सहयोगमा कमलाको प्रबेशिका उत्तीर्ण गरेपछि रुपन्देहीको जनता माध्यमिक विद्यालय अमुवाबाट जेटिए पी को १८ महिने पढाइ सकेर घोराहीस्थित छिमेकीको एग्रोभेटमा दुईवर्ष काम गरिन । यही अनुभवका आधारमा कमलाले घोराही उपमहानगरपालिका– १० नारायणपुरमा आफ्नै एग्रोभेट पसल छ ।

एग्रोभेटमा बीउबिजन, विषादी र च्याउको धेरै बिक्री हुने गरेको गरेको उनी बताछिन् । उनले बीउ र विषादीका वारेमा गाउका किसानहरुलाई राम्रोसँग सिकाउन पाएको बताउछिन् । आफ्नो सिपको सदुपयोग गरेर आफू मालिक बन्दा खुशी लागेको र कमाई पनि राम्रै रहेको उनी बताउछिन् ।

कमलाले भनिन्– ‘‘म त पूर्व कमलरी आर्थिक अवस्था राम्रो थिएन अरु क्षेत्रमा काम गर्नसक्ने अवस्था पनि थिएन । सीप सिकेर अहिले राम्रो भयो, चारजनाको परिवार पाल्न सकेकी छु ।”
प्राविधिक शिक्षा लिए बेरोजगार बस्नु नपर्ने र आम्दानी पनि राम्रो हुने भएपछि अहिले यसतर्फ आकर्षण बढेको छ । प्राबिधिक शिक्षाले सीपसँगै स्वारोजगार पनि बन्न सकिने भएकोले युवायुवती यसप्रति आकर्षित भएका हुन् ।

घोराही उपमहानगरपालिका १५ निवासी शोभा आचार्य जेटिए पढेर आफ्नो जीवन बदलिएको बताइन् । उनीले दाङ देउखुरीमा रहेको लालमटिया प्रविधिक विद्यालयको (मौरीघाट) मा विसं २०५३ मा पढिन् । आफूले प्राविधिक शिक्षा सकेर विसं २०५६ मा लोकसेवामा (भेटनरी जेटिए) मा नाम निकाल्दा सबैभन्दा ठूलो खुशीको क्षण भएको आचार्य बताउछिन् । पशुपालक किसान सल्लाह लिन आउदा रमाइलो लाग्ने गरेको उनको अनुभव छ । अहिले राज्यले एक गाउँ एक प्राविधिक भन्ने नारालाई अघि सारेको छ ।

घोराही उपमहानगरपालिका १७ गुलरिया निवासी कमल वलीले दाङको पद्मोदय नमुना माध्यमिक विद्यालयमा स्नातक तह इलेक्ट्रिकल इन्जीनियरिङ पढे । अहिले उनी आफूजस्तै इन्जिनियर उत्पादन गर्न लागेका छन् । आफूले पढेको विद्यालयमा सेवागर्न पाउदा उनी खुशी छन् ।

विद्यालयकका प्राविधिक विषयका संयोजक भोला मिश्र प्राविधिक शिक्षा पढेका विद्यार्थी बेरोजगार वस्नु नपरेको बताउछन् । आफुहरुले उत्पादन गरेको जनशक्ति आफ्नो सीप अनुसराको कुनै न कुनै काममा जोडिएर आयआर्जनमा लागेको मिश्र बताउछन् । उनी विद्यार्थीले आफनो रुचि अनुसारको विषय पढ्ने भएकाले प्राविधिक विद्यालयमा विद्यार्थीको आकर्षण वढ्दो रहेको र यसले सजिलै रोजगारीको अवसर पनि दिएको बताउछन् ।

देशको आर्थिक उन्नतिका लागि योग्य, सक्षम, प्रतिस्प्रर्धी र उत्पादनशील जनशक्ति तयार गर्न र सबैका लागि रोजगारी सिर्जना गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको विस्तार देशको आर्थिक विकासको प्रमुख आधार हो । देशको आर्थिक विकासगरी सवै नागरिकका लागि समावेशी एवं समतामूलक पहूँच स्थापित गर्ने प्रमुख उद्देश्यले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम नीति ,२०६९ निर्माण गरिएको छ । नेपालमा पछिल्लो समयमा प्राविधिक शिक्षाप्रतिको आकर्षण वढदै गइरहेको छ । दाङ जिल्लाको गढवामा सात वर्षदेखि गढवाको सरस्वती माध्यमिक विद्यालय गोबडिहामा प्राविधिक विषय बाली बिज्ञान अध्यापन हुन्छ । सो विद्यालयमा कक्षा ९ देखि १२ सम्म कृषि प्राविधिक पढाई हुने गरेको छ । कक्षा १० सम्म उत्तीर्ण विद्यार्थी जेटिए बन्छन् भने कक्षा १२ पास गर्नेहरु जेटिए इन्जिनियर बन्ने गाउपालिका अध्यक्ष सहजराम यादवले जानकारी गराए । गाउँपालिकाको स्वीकृतिपछि यसै वर्षदेखि थप दुई विद्यालयमा प्राविधिक विषय अध्ययनको तयारी गरिएको उनले जानकारी दिए । यसअघि यहीँ उत्पादित जनशत्तिलाई स्थानीय तहमा काममा लगाउने उद्देश्यले प्राविधिक शिक्षालाई जोड दिइएको उनले बताए ।

यस्तै तुलसीपुर उपमहानगरपालिकाले मेट्रो कलेज सञ्चालनमा ल्याएको छ । स्नातक तहसम्मको अध्यनका लागि पाँच वटा संकाय अध्ययन हुनेगरी तुलसीपुर बहुप्राविधिक शिक्षालय (तुलसीपुर मेट्रो कलेज) सञ्चालनमा ल्याइएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी गराए । स्थानियस्तरमै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको उनले बताए ।

स्थानीय सरकारले पनि कलेज सञ्चालनमा पहल गर्नसक्ने सन्देश दिन उपहानगरले मेट्रो कलेज सञ्चालनमा ल्याएको प्रमुख पान्डेले बताए । कलेजको कम शुल्क राख्ने र तीनवर्षे कार्यक्रमअन्तरर्गत वन विज्ञान, कृषि विज्ञान, फूड एन्ड डेरी, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ विषयको अध्यापन शुरु भएको उनले बताए।

शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख विनोद गौतमले दाङमा पछिल्लो डेढ वर्षमा स्थापना भएका १९ वटा प्राविधिक विषय सरकारी र निजी विद्यालयमा पढाइ हुदै आएको जानकारी दिए । दाङ जिल्लामा थप छ वटा सामुदायिक विद्यालयले शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट यस वर्षदेखि प्राविधिक विषय पढाउन सम्वन्धन प्राप्त गरेको उनले बताए ।

जिल्लामा प्राबिधिक विषय अध्यापन हुने संस्थाहरुमा सूचना प्रविधी, बालीविज्ञान, अटोमोवाइल, पशु विज्ञान, सिभिल, सर्भे इन्जिनियरिङ, डेरी एन्ड फूड विषयमा पठनपाठन भएको छ ।