एकै परिवारका पाँच जना चार दिनदेखि खोलामा बेपत्ता

असोज १९, कैलाली ।
जिल्लामा पाँच जना विगत चार दिनदेखि खोलामा हराइरहेका छन् । बाजुराको हिमाली गाउँपालिका–५ स्थित कवाडीमा पाँच जना शुक्रबार बेपत्ता भएका छन् ।

उनीहरू सबै एकै परिवारका रहेको र उनीहरूको अवस्था अझै अज्ञात रहेको रहेको प्रहरीले जनाएको छ । कवाडीमा बस्दै आएकी ३० वर्षीया सत्ता नेपाली शुक्रबार साँझ ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मतीसहित बेपत्ता भएकी थिइन् ।

छोराछोरीसहित कवाडी नदीमा नुहाउन गएकी उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले बताए । घटना लगत्तै प्रहरी निरीक्षक ठगुन्नासहितको टोलीले खोजी कार्य गरीरहेको छ ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले उनीहरूको खोजी गरिरहेका छन् । तर, ४ दिनसम्म पनि अवस्था अज्ञात रहेको प्रहरीको भनाइ छ ।

कवाडी र कर्णाली नदीको दुरी दुई मिटर मात्रै छ । त्यसैले कवाडी नदीबाट बगेर कर्णाली नदीमा गएको हुन सक्ने प्रहरीको अनुमान छ । ‘हामीले धेरै ठाउँमा खोजी गरिसकेका छौँ,’ उनले भने, ‘अहिलेसम्म कतै कोही भेटिएका छैनन् ।’

परिवारका सदस्यहरुलाई नदीमा नुहाउन जाने भन्दै उनी घरबाट निस्किएको प्रहरीले जनाएको छ ।