असोज १९, दैलेख ।
जिल्ला अदालत दैलेखले गोरु काटेको भन्दै एक युवकलाई एक वर्ष नौ महिना कैद सजाय सुनाएको छ । न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले गोरु काट्ने भैरवी गाउँपालिका–२ का राजेश विष्टलाई कैदका साथै ४० हजार रूपैयाँ क्षतिपूर्तिको फैसला गरेको हो ।
श्रेस्तेदार इन्द्रबहादुर कार्कीका अनुसार विष्टलाई मुलुकी अपराध संहिताको २८९ को उपदफा १, २ र ३ अनुसार आइतबार सो सजाय सुनाइएको हो ।
विष्टले गत भदौ २६ गते रावतकोटका सोविन थापाका आगनमा बाँधेका गोरु काटेका थिए । काटिएकै दिन एउटा गोरुको मृत्यु भएको थियो भने अर्को गोरु घाइते अवस्थामा छ ।
थापाले अदालतले आफूलाई न्याय दिएको प्रतिक्रिया दिए । ‘खेती लाउने सिजनमा दुवै गोरु काटिएपछि अन्यायमा थिएँ । अदालतले न्याय दिएको छ,’ थापाले भने ।







