गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने

असोज १९, बाग्लुङ ।
जिल्लाको बडिगाड गाउँपालिकालाई भारत सरकारले निःशुल्क एम्बुलेन्स प्रदान गरेको छ । गाउँपालिकाले सो एम्बुलेन्स सञ्चालनमा ल्याउन थालेको जनाएको छ ।

नेपालका ४१ सङ्घसंस्थालाई एम्बुलेन्स प्रदान गर्ने क्रममा बागलुङबाट यस गाउँपालिकाले एम्बुलेन्स प्राप्त गरेको हो । भारत सरकारले महात्मा गान्धीको १५१औँ जन्मजयन्तीको अवसरमा एम्बुलेन्स दिएपछि सञ्चालनको तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताए ।

‘गाउँपालिकालाई कोरोना सङ्कटमा निकै समस्या भयो, निर्वाचित भएर आएपछि एम्बुलेन्सको आवश्यकता देखेर भारत सरकारलाई माग गरेका थियौँ,’ अध्यक्ष पाइजाले भने, ‘तीन वर्ष पहिले माग गरेको एम्बुलेन्स हाल आएर उपहारस्वरुप प्राप्त भएको छ । यसको सञ्चालन र व्यवस्थापन गाउँपालिकाले गर्नेछ ।’

शुक्रबार गाउँपालिकाको नाममा एम्बुलेन्स हस्तान्तरण भएको हो । कर छुटसहित झण्डै १२ लाख रूपैयाँभन्दा बढी मूल्यको उक्त बुलेरो एम्बुलेन्स प्राप्त भइ गाउँपालिका ल्याउन थालिएको पाइजाको भनाइ छ ।

कोरोना महामारीको समयमा आफ्नो एम्बुलेन्स नहुँदा भाडाको एम्बुलेन्समा सङ्क्रमित बोक्दै आएको गाउँपालिकाले आगामी दिनमा आफ्नै एम्बुलेन्स प्रयोग गर्दा सहज हुने गाउँपालिकाको अपेक्षा छ ।