इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारवाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ- इनिशा बिकको हत्यासम्बन्धी घटनामा संलग्नमाथि कडा कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। संयुक्त नागरिक पार्टीअन्तर्गतका विद्यार्थी र महिला विभागले मंगलबार माइतीघर क्षेत्रमा विरोध कार्यक्रम आयोजना गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने, यौन हिंसाको अन्त्य गर्नुपर्ने तथा सुरक्षित समाज निर्माण गर्नुपर्ने माग राख्दै विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

आन्दोलनरत समूहले पीडित परिवारले न्याय प्राप्त नगरेसम्म आफ्नो अभियान जारी रहने चेतावनी दिएका छन्।

इनिशा बिक सुर्खेतको वीरेन्द्रनगरस्थित एक सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टम प्रतिवेदन अनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख छ। घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।