काठमाडौं – पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा विपद्को घटनामा ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। यी घटनामा करिब २ करोड ४१ लाख ६ हजार ९ सय रुपैयाँको आर्थिक क्षति भएको अनुमान गरिएको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार देशका ४३ जिल्लामा विपद्का घटनाहरू दर्ता भएका छन्।
चैत २ गते बिहान १० बजेदेखि चैत ३ गते बिहान १० बजेसम्मको अवधिमा देशभरमा कुल ७३ वटा विपद्को घटना भएको प्राधिकरणले जानकारी दिएको छ। यी घटनामा मृत्यु हुनेमा हावाहुरीबाट २ जन, सर्पदंशबाट १ जना र चट्याङ लागेर १ जना रहेका छन्।
यस अवधिमा सबैभन्दा बढी हावाहुरीका ४६ वटा घटनाहरू र आगलागीका १२ वटा घटनाहरू दर्ता भएका छन्।







