विद्यालयलाई जग्गा दान

असोज, २१ टीकापुर । टीकापुर नगरपालिका–६ का बासिन्दा समाजसेवी कुमारराज शाहीले बिघा बढी जग्गादान गरेका छन् । रानी–जमरा कुलरिया सिँचाइ आयोजना मूल समितिका अध्यक्ष शाहीले टीकापुर नगरपालिका वडा नं ६, विभिन्न विद्यालयलाई गरी एक बिघा बढी जग्गादान गर्नुभएको हो ।

टीकापुर–६ वडा कार्यालयलाई उच्च घर निर्माणका लागि भगवानपुरस्थित दुई कठ्ठा एक धुर जग्गादान गरेका हुन्। “मनकारी शाहीले जग्गादान गरेपछि बाढीपीडितका लागि उच्च घर निर्माण शुरु भएको छ”, वडाध्यक्ष बलिराम चौधरीले भने, “उच्च घर निर्माण आवश्यक थियो तर जग्गा अभाव थियो । आफ्नो ठाउँको विकास र समस्या समाधान गरौँ भन्ने भावनाका धनी समाजसेवी शाहीले जग्गा दिएपछि भवन निर्माण भइरहेको छ ।”

शाहीले सोही जग्गासँगै रहेको १० धुर जग्गा विद्युत् सहकारीको भवन निर्माण र शिवमन्दिरका ट्रष्ट निर्माणका लागि समेत दान गरेका छन् । भगवानपुरस्थित रहेको शाहीको सो जग्गा रु १४ लाख बराबरको रहेको बताइएको छ । शाहीले यसअघि पनि थुप्रै सङ्घसंस्था र विद्यालयलाई जग्गा उपलब्ध गराउनु भएको छ । विसं २०५६ मा ज्ञानोदय आधारभूत विद्यालय नुक्लीपुरलाई चार कठ्ठा, खड्ग प्रावि भगवानपुरलाई चार कठ्ठा जग्गा दिएपछि यी विद्यालय स्थापना भएका हुन् ।

“मनकारी शाहीले विसं २०६५ मा सत्ती प्रहरी चौकीको भवन निर्माणका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएपछि प्रहरी चौकी भवन बनेको हो”, स्थानीय परशुराम महतोले भन्नुभयो, “हाल प्रहरी चौकी उहाँले उपलब्ध गराएको जमिनमा छ । जहाँ–जहाँ समस्या र आवश्यकता भयो शाहीले सहयोग गरेका छन् ।” “शाहीले करोडौँ मूल्यका जग्गा मात्र दान नगरी समुदायमा अन्य खाले सहयोग पनि गर्दै आएको महतोले बताए । उनले गरिब तथा मुक्त कमैयाका छोराछोरीको अध्ययनका लागि समेत सहयोग गर्दै आएका छन् । हरेक वर्ष सहयोग पठाउछन्”, महतो भन्छन्, “कति विद्यार्थीको शुल्क, कापी किताब उहाँले पठाएको रकमले मैले किनिदिएको छु । गरिब र असहाय परिवारलाई आर्थिक सहयोगसमेत गर्दै आएको छ ।”

दानवीर शाहीले समुदायको आवश्यकतानुसार थोरै–थोरै जग्गा सहयोग गरेको बताए । “समस्या परेका बेला आफूसँग भएको थोरै जमिन सामाजिक विकासमा लगाउने सोच बनाएको हुँ”, शाहीले भने, “विकासमा बाधा नहोस् भनी सक्दो गरेँ । रासस