असोज २२, काठमाडौं ।
जापानमा गरिएको एक अध्ययनले कोरोना भाइरस मानिसको छालामा नौ घन्टासम्म बाँच्न सक्ने देखाएको छ । यो अन्य फ्लु भाइरसभन्दा निकै लामो समय बाँच्ने तथ्या पत्ता लागेको छ ।
अनुसन्धानकर्ताका अनुसार कोरोना (सार्स–कोभ–२) मानिसको छालामा ९ घण्टासम्म बाँच्न सक्छ । जबकी फ्लु गराउने इन्फ्लुएन्जा भाइरस भने छालामा २ घण्टा जति मात्रै जीवित रहन सक्छ ।
तर यी दुवै भाइरस साबुनपानीले धुँदा वा सेनिटाइजर लगाउँदा निष्क्रिय हुन्छन् । यो अध्ययनले कोरोनाबाट बच्न साबुनपानीले मिचीमिची हात धुनु तथा सेनिटाइजर लगाउनुको महत्वलाई पुनः पुष्टि गरेको छ ।
क्लिनिकल इन्फेक्सियस डिजिजेज जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार अरू भाइरसका तुलनामा कोरोना सम्पर्कका माध्यमबाट छिटो सर्न सक्ने देखिएको लाइभसाइन्समा उल्लेख छ । यसअघि अमेरिकामा गरिएको अध्ययनले कोरोना तामामा ४ घण्टा, कागजको बोर्डमा २४ घण्टा तथा प्लास्टिक र स्टेनलेस स्टिलमा ७२ घण्टासम्म बाँच्न सक्ने देखाएको थियो ।
जापानका क्योटो प्रिफेक्चुरल युनिभर्सिटी अफ मेडिसिनका अनुसन्धानकर्ताले मानिसको शवबाट लिइएका छालाको नमुनाबाट छालाको मोडल तयार गरेका थिए । छाला मृत्युको एक दिनपछि संकलन गरिएको थियो ।
अनुसन्धानकर्ताका अनुसार मानिस मरेको २४ घण्टापछि पनि छाला प्रत्यारोपणका लागि प्रयोग गर्न सकिन्छ । यसको अर्थ के हो भने मानिस मरेको केही समय पछिसम्म पनि छाला जीवितै हुन्छ । यस हिसाबले त्यसरी संकलन गरिएको नमुना छाला सही नमुना हुने अनुसन्धानकर्ताको दाबी छ ।
८० प्रतिशत इथानोल भएको सेनिटाइजर प्रयोग गर्दा उल्लिखित दुवै भाइरस १५ सेकेन्डमै निष्क्रिय भएको पनि पाइएको अनुसन्धानकर्ताले बताएका छन् ।
यही आधारमा उनीहरूले भनेका छन्, ‘सही ढंगले हात सफा राख्ने हो भने कोरोना चाँडै निष्क्रिय हुन्छ र संक्रमण हुने जोखिम पनि घट्छ ।’
छालामा रहेको कति मात्राको कोरोनाले मानिसलाई संक्रमित बनाउन सक्छ भन्ने बारेमा भने थप अध्ययन आवश्यक रहेको अनुसन्धानकर्ताले बताएका छन् ।







