राष्ट्रपतिभन्दा उपराष्ट्रपतिको बहस सभ्य

असोज २३, काठमाडौं ।
अमेरिकामा तीन सातापछि हुन लागेको निर्वाचन लक्षित बहसमा राष्ट्रपतिका उम्मेदवारभन्दा उपराष्ट्रपतिका उम्मेदवारको बहस सभ्य देखिएको छ ।

आसन्न निर्वाचनका लागि आयोजित विभिन्न बहसमा उपराष्ट्रपतिका उम्मेदवारले तुलनात्मक रूपले गुणस्तरीय बहस गरेका छन् । अमेरिकामा राष्ट्रपतिका लागि डोनाल्ड ट्रम्प र जोए बाइडेन उम्मेदवार छन् भने उपराष्ट्रपतिमा माइक पेन्स र कमला ह्यारिस लड्न लागेका छन् ।

ट्रम्प र जोएबीच गत हप्ता बहस भएको थियो भने उपराष्ट्रपतिका उम्मेदवारद्वय माइक र कमलाबीच बिहीबार बहस भएको हो । राष्ट्रपतिका प्रतिस्पर्धीद्वयको बहसमा उनीहरुले एक अर्कालाई आरोप लगाउने, गालीगलौज गर्ने, तर्क र तथ्याङ्कभन्दा बढी जिद्दी गरेका थिए ।

तर हिजोको उपराष्ट्रपतिको बहसमा दुवै प्रतिस्पर्धी बहसमा तुलनात्मक रुपमा भद्र, शालीन र तर्क तथा तथ्याङ्कसहित प्रस्तुत भएका थिए । यसरी दुई बहस हेर्दा राष्ट्रपतिका उम्मेदवारहरुभन्दा उपराष्ट्रपतिका उम्मेदवारहरुको बहस बढी गुणस्तरीय भएको दर्शकहरुको टिप्पणी छ ।

अमेरिकामा उपराष्ट्रपतिको आगामी कार्यकालका लागि वर्तमान उपराष्ट्रपति पेन्सले रिपब्लीकनको तर्फबाट र ह्यारिसले डेमोक्रेटिकको तर्फबाट प्रतिस्पर्धा गर्न लागेका छन् । ह्यारिस पहिलो अश्वेत महिला उपराष्ट्रपतिको उम्मेदवार हुन् । उनकी आमा भारतीयमुलकी हुन् ।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ ।