होर्मुजमा अमेरिकी नाकाबन्दी: इरानका जहाज फर्काइँदै, तनाव चुलिँदै

काठमाडाैं । अमेरिकाले होर्मुज जलडमरूमध्य क्षेत्रमा नाकाबन्दी कडा बनाउँदै इरानमाथि दबाब बढाएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार बुधबार अमेरिकी मिसाइल विध्वंसक युद्धपोत यूएसएस स्प्रुएंसले इरानी झण्डा बोकेको एक मालवाहक जहाजलाई फर्कन बाध्य बनाएको हाे ।

सेन्ट्रल कमान्डले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त जहाज बन्दर अब्बासबाट निस्किएको र होर्मुज जलडमरूमध्य पार गरेर अगाडि बढ्ने प्रयास गरेको जनाएको छ। नाकाबन्दी उल्लंघन गर्ने प्रयास गरेपछि अमेरिकी युद्धपोतले त्यसको मार्ग परिवर्तन गराएको हो। हाल उक्त जहाज पुनः इरानतर्फ फर्किएको बताइएको छ।

अमेरिकी सेनाका अनुसार सोमबारदेखि सुरु भएको नाकाबन्दीपछि अहिलेसम्म १० वटा जहाजलाई फर्काइएको छ। कुनै पनि जहाजले नाकाबन्दी तोड्न सकेको छैन। नाकाबन्दी तेस्रो दिनमा प्रवेश गरिसकेको छ र अमेरिकी दाबी अनुसार इरानी बन्दरगाहतर्फ जाने समुद्री मार्गहरूमा पूर्ण नियन्त्रण कायम गरिएको छ।

यस कदमको मुख्य उद्देश्य इरानका समुद्री व्यापारिक मार्ग अवरुद्ध गर्दै त्यसको अर्थतन्त्रमा दबाब सिर्जना गर्नु हो। सैन्य स्रोतका अनुसार नाकाबन्दी कडाइका साथ लागू गर्न अमेरिकी सेना पूर्ण तयारीमा छ।

यो तनाव त्यतिबेला बढेको हो, जब डोनाल्ड ट्रम्पले सम्भावित ठूलो सम्झौताको संकेत दिएका थिए। यद्यपि ओमानको खाडी क्षेत्रमा अमेरिकी नौसेनाको उच्च उपस्थितिले, ठोस सहमति नहुन्जेल दबाब कायम राख्ने संकेत दिएको छ।

सेन्ट्रल कमान्डका कमाण्डर एडमिरल ब्राड कूपरका अनुसार, नाकाबन्दी सुरु भएको ३६ घण्टाभित्रै इरानको समुद्री व्यापार प्रभावकारी रूपमा रोकिएको छ। यो नाकाबन्दी फारसको खाडी र ओमानको खाडीमा रहेका इरानका सबै बन्दरगाहहरूमा लागू गरिएको छ।

अमेरिकी सेनाले स्पष्ट पारेको छ कि इरानी बन्दरगाहतर्फ जाने जहाजहरू मात्र रोकिनेछन्। अन्य देशका बन्दरगाहतर्फ जाने जहाजहरूलाई भने होर्मुज जलडमरूमध्य हुँदै स्वतन्त्र रूपमा आवागमन गर्न दिइनेछ।

यस कदमसँगै अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ। एजेन्सी