टिकटकले १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटायो

काठमाडौँ – सर्ट भिडियो प्लेटफर्म टिकटकले सन् २०२५ को चौथो त्रैमासिक (अक्टोबर–डिसेम्बर) मा विश्वभरबाट १७ करोड ५३ लाख २ हजार ८५ वटा भिडियो हटाएको जनाएको छ।

आफ्नो ‘कम्युनिटी गाइडलाइन्स’ उल्लंघन गरेको भन्दै टिकटकले कुल अपलोड गरिएका भिडियोको करिब ०।५ प्रतिशत कन्टेन्टमाथि कारबाही गरेको हो।

यस अवधिमा नेपालमा मात्रै १९ लाख ३२ हजार ५७५ वटा भिडियो हटाइएका छन्। नेपालमा सक्रिय रूपमा कन्टेन्ट हटाउने दर ९९.९ प्रतिशत रहेको छ, जसमा ९८।४ प्रतिशत भिडियो पोष्ट भएको २४ घण्टाभित्रै हटाइएको टिकटकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

भिडियोका अतिरिक्त टिकटकले प्लेटफर्मको विश्वसनीयता कायम राख्न विश्वभरबाट १४ करोड ७७ लाखभन्दा बढी नक्कली एकाउन्टहरू र १३ वर्षभन्दा कम उमेरका बालबालिकाका २ करोड ३८ लाखभन्दा बढी खाताहरू पनि हटाएको छ।

हटाइएका भिडियोहरूमध्ये २१।२ प्रतिशत संवेदनशील वा वयस्क विषयवस्तु भएका, ९.१ प्रतिशत सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लंघन गरेका र बाँकी भ्रामक सूचना तथा गोपनीयता उल्लंघन गरेका सामग्रीहरू रहेका छन्।

टिकटकले एआई–आधारित प्रविधिको सुधारका कारण नियम उल्लंघन गर्ने पुराना र नयाँ दुवै खाले सामग्री पहिचान गर्न सहज भएको जनाएको छ।