असोज २४, काठमाडौं ।
भारतको छत्तीसगढमा एक मेडिकलका विद्यार्थीले आत्महत्या गरेपछि विरोध प्रदर्शन सुरु भएको छ । त्यहाँका २८ वर्षीय विद्यार्थी भागवत देवांगणले आत्महत्या गरेका हुन् ।
जातीय उत्पीडनमा परेको भन्दै उनले आत्महत्या गरेको बताइएको छ । परिवारका अनुसार गरिब र तल्लो जातको भनेर कलेजका माथिल्लो तहका विद्यार्थीले लगातार हतोत्साही बनाएपछि जबलपुर मेडिकल कलेजमा अध्ययनरत भागवतले झुण्डिएर आत्महत्या गरेका थिए ।
यद्यपि कलेजले यो आरोपलाई अस्वीकार गरेको छ । यो विषयमा परिवारको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरे पनि अझै एफआइआर दर्ता नभएको बताइएको छ । परिवारले भागवनका ५ सिनियर डाक्टरविरुद्ध उजुरी दर्ता गरेका छन् ।
भागवतले मध्यप्रदेशको जबलपुरस्थित नेताजी सुभासचन्द्र बोस मेडिकल कलेजमा अर्थोपेडिकमा पिजी गरिरहेका थिए । उनका दाजु प्रल्हाद देवांगनले आफूलाई भाइले सिनियरहरुले गरिब र तल्लो जातको भन्दै शारीरिक र मानसिक यातना दिने गरेको बताउने गरेका थिए ।
कलेजलाई यस विषयमा जानकारी भए पनि हस्तक्षेप नगर्दा भाइ मर्नुपरेको उनले बताए । यसअघि पनि उनले आत्महत्याको प्रयास गरेको बताइएको छ ।







