गृहमन्त्री सुधन गुरुङ र विवादास्पद व्यवसायी दीपक भट्ट ‘व्यापारिक साझेदार’, सम्पत्ति विवरणमा लगानी लुकाए

काठमाडौं : सम्पत्ति शुद्धीकरण लगायतका गम्भीर आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका दीपक भट्टको समूहको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गृहमन्त्री सुधन गुरुङसमेत लगानीकर्ता रहेको खुलेको छ।

सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका भट्ट र विवादास्पद शंकर समूहको लगानी रहेको सो कम्पनीमा गृहमन्त्री गुरुङको २५ लाख रुपैयाँ बराबरको सेयर रहेको दियो पोस्टले प्रारम्भमा सार्वजनिक गरेको हो।

स्टार भट्ट र शंकर समूहबाटै सञ्चालित माइक्रो लाइफ इन्स्योरेन्स हो। यसको सञ्चालक समितिको अध्यक्षमा सुजन आचार्य छ। सञ्चालकहरूमा लोबुचे इन्भेस्टमेन्टको तर्फबाट श्रीमती श्रेया रुंगटा, प्रजुती बज्राचार्य र घान्द्रुक इन्भेस्टमेन्ट प्रालिका तर्फबाट सिता प्रसाद पोखरेल छन्।

गुरुङको हामी नेपाल र भट्ट समूहबीच यस अगाडि नै सम्बन्ध खुलेको थियो।

केराले समेत पाएको सेयर लगत विवरणमा उनीहरुबीच साझेदारी समेत रहेको देखिन्छ। तर हालै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गरेको गुरुङको सम्पत्ति विवरणमा स्टार माइक्रोमा रहेको लगानीबारे केही उल्लेख गरेका छैनन्।

त्यसमा होप होल्डिङ्स प्राली, लगुम प्रिमियम अपार्टमेन्ट र एड्भेन्चर भिल्ला प्रालीमा लगानी रहेको मात्र उल्लेख छ। स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा समेत उनको लगानी देखिन्छ। यसले उनले सम्पत्ति विवरण लुकाएको देखिन्छ।

सेयर लगतको ४९ नम्बरमा गुरुङको विवरण छ त्यसमा उनको ठेगाना चुमुनुब्री-२, गोरखा उल्लेख छ। सम्पत्ति विवरणमा पनि उनले सोही ठेगाना राखेका छन्। बाबुको नाम दिलबहादुर गुरुङ उल्लेख छ। सम्पत्ति विवरणमा पनि उही छ।

आर्थिक सुशासन र बिचौलियातन्त्रको अन्त्य गर्ने नारासहित ‘जेनजी’ आन्दोलनबाट राजनीतिमा उदाएका गुरुङ आफैँ बिचौलिया र ठूला व्यापारिक घरानाको साझेदार देखिएपछि बालेन शाह नेतृत्वको सरकारमाथि नैतिक प्रश्न उठेको छ।

उनको सम्पत्तिको स्रोतबारे प्रश्न उठ्दा सामाजिक सञ्जालमा गुरुङले “गरिब भएर जन्मिनु गल्ती होइन, मर्नु गल्ती हो” भन्दै लेखेका थिए।