रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री, राजीनामा बहस तातिँदै

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् ।

विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको कम्पनीमा साझेदारी, सम्पत्ति विवरण नै लुकाएको जस्ता विवादमा सुधन परेका छन् ।

यस्तोमा सुधनले पार्टी सभापति लामिछानेसँग उनको निवास बूढानीलकण्ठ पुगेर छलफल गरिरहेका छन् । उक्त छलफलमा प्रधानमन्त्रीले समेत स्पष्टीकरण सोधेको अवस्थामा रविले सम्भवत: सुधनलाई निकास दिन सुझाव दिन सक्ने बताइएको छ।

सुधनलाई वालेन्द्रले केही निश्चित जिम्मेवारी दिएर गृहमन्त्री बनाएका थिए । सुधन र वालेन्द्र दुवै भदौमा भएको दमनमा संलग्न भएको आरोप लगाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने कुरामा एकमत थिए ।

त्यसैगरी गत भदौको जेन-जी आन्दोलनपछि उनले रातारात लाखौँको शेयर किन्दा स्रोत खुलाउन नसकेको अर्को आरोप पनि सुधनलाई लागेको छ।

अनेक विवादपछि सुधनलाई प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार नै स्पष्टीकरण पनि सोधिसकेका छन् । यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहलाई वालेन्द्रले स्पष्टीकरण नै नसोधी रविको सिफारिसमा सिधै बर्खास्त गरेका थिए ।

तर साहको भन्दा गम्भीर विवादमा मुछिएर अनेक प्रश्न उठे पनि सुधनलाई भने वालेन्द्रले स्पष्टीकरणको मौका दिएका छन् ।