मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भिडभाड थिएन ।

साँघुरो सडक, पातलो बस्ती, साना घरहरू थिए । उनले भने, “गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरू मेरैमा खाजा, खाना खान्थे ।” उनी सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा तीन दशक यता निरन्तर मिठाई पसल सञ्चालन गर्दै आएका छन् ।

स्वदेशमा परिश्रम गरिरहेका तामाङले मिठाई बेचेर खुसी कमाइरहेको बताउँछन् । पचासदेखि ०५८ सालसम्म उनको व्यापार फस्टायो । सोही अवधि तराईमा घर किने । फिक्कल नजिकै नयाँ चोकमा तीन ठाउँ जमिन जोडे । दुई जना छोरीलाई पढाएर अमेरिका र अस्ट्रेलिया पठाउने यही व्यापारले गर्‍यो । कान्छी छोरीलाई काठमाडौँ राखेर चार्टर एकाउन्टेन्ड र बिएबीएस पढाउने खर्च पनि यसै पसलले धानिरहेको छ ।

“झापाको बिर्तामोडमा जोडेको घर, नयाँ चोकमा जोडेका जमिनहरू त्यति बेलाकै व्यापारले हो ।” उनी भन्छन्, “०५० सालमा फिक्कल आएर २२ हजार लगानीमा पसल सुरु गरेँ । महिनाको रु. २०० भाडा तिर्नुपर्थ्यो । पाँच रुपैयाँमा पेट अघाउने खाजा बेच्दा पनि पैसा कमाइयो । छोरीहरूलाई ‘सेटल’ गराएँ । मिठाई बेचेर खुसी कमाएको छु ।”

अहिले पनि उनको पसल (जनता मिष्ठान्न भण्डार) उत्तिकै चलेको छ । तर, त्यो बेलामा जस्तो नाफा हुँदैन । तामाङ भन्छन्, “महँगी बढेको छ । सामान किनिसक्नु छैन । मान्छे त आइरहन्छन् । तर, प्रतिस्पर्धा बढ्यो । पसल धेरै छन् । तैपनि ६०–७० हजार बचाउँछु ।” उनको इमानदार सोच र निरन्तर श्रमले तीन छोरीको भविष्य बनायो । “जेठी छोरीलाई काठमाडौँमा नर्सिङ पढाएर अमेरिका पठाएँ, माइली अस्ट्रेलियामा छिन्, कान्छी काठमाडौँमै चार्टर एकाउन्टेन्ड र बिएबीएस पढ्दै छिन् । मलाई सन्तोष छ ।” छोरीहरूको पढाइका लागि उनले बिर्तामोडमा बनाएको घर बिक्री गरेको बताए ।

समयसँगै व्यापारको स्वरूप फेरियो । पहिले फिक्कलस्थित पशुपतिनगर स्टेनमा रहेको त्यही पसल फिक्कल बजारको इलाम स्टेन मुनितिर सरेको २० वर्ष भयो । खाजाको मूल्य रु. पाँचबाट बढेर रु. १५० पुगेको छ । समोसा, सेलरोटी, पुरीदेखि लड्डु, खुर्मा, रसबरी, जेरी र भुजियासम्मका परिकार पाइने पसलमा अहिले दुई जना कर्मचारी छन् । उनी भन्छन्, “प्रतिस्पर्धा बढ्यो, ग्राहकको बानी फेरियो । अहिले जाँडरक्सी बेच्ने धेरै छन्, तर मैले कहिल्यै मदिरा, सुर्ती, चुरोट बेचिनँ ।”

विसं २०४२ तिर उहाँ झापाको काँकडभिट्टामा रिक्सा चलाउँथे। छ सय मजदुरको विश्वास जित्दै रिक्सा संघको कोषाध्यक्ष बनेका थिए । पछि केही समय होटलमा पनि काम गरेर मिठाई पसल सुरु गरेको उनी बताउँछन् । आज पनि उनी पसलमै व्यस्त छन् । उमेर ढल्किँदै गए पनि कामप्रतिको लगाव उस्तै छ । “काम नगरी हुँदैन, तर अहिलेका केटाकेटीले यस्तो दुःख गर्न चाहँदैनन् ।” उन भन्छन् ।

ऐतिहासिक गोर्खे बजार त्यो बेलाको व्यापारिक केन्द्र थियो । त्यहाँबाट सामान खरिद बिक्री गर्न भारी बोकेर आउजाउ गर्नुपर्थ्यो । “बिहानै भारी बोकेर फिक्कल हिँडिन्थ्यो । हरिको मिठाई पसलमा पुगेर खाजा खाने भन्दै जान्थ्यौँ । यी मान्छे पुराना हुन् । अहिले पनि उसैगरी व्यापार गर्छन् ।” गोर्खेका ७६ वर्षीय वीरबहादुर राईले सुनाए, “अहिले पनि फिक्कल जाँदा हरिको पसलमा समोसा नखाई फर्किन्न ।”