नेपाल भेटेरिनरी काउन्सिलमा अध्यक्ष र रजिस्ट्रारसहित तीन पद रिक्त

काठमाडौं – नेपाल भेटेरिनरी काउन्सिलमा आजदेखि अध्यक्ष र रजिस्ट्रार पदसहित तीन महत्वपूर्ण पद रिक्त भएका छन्। कार्यकाल समाप्त भएसँगै नेतृत्व तहमा खालीपन देखिएपछि तत्काल नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने अवस्था सिर्जना भएको छ।

पूर्व अध्यक्ष ब्रज किशोर प्रसाद शाहले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेसँगै अध्यक्ष पद रिक्त भएको हो। त्यस्तै, निमित्त रजिस्ट्रार राम कुमार मण्डलको पनि सदस्यका रूपमा रहेको चार वर्षे कार्यकाल समाप्त भएपछि रजिस्ट्रार पद खाली भएको छ।

यसैगरी, सदस्य दिनेश कुमार यादवको कार्यकाल समाप्त भएसँगै अर्को एक सदस्य पद पनि रिक्त भएको छ। हाल उनी भारतमा विद्यावारिधि अध्ययनमा रहेको जनाइएको छ।

पूर्व अध्यक्ष डा. शाह नेपाल सरकारका पूर्व सचिव हुन् भने डा. मण्डल सेवा निवृत्त सरकारी कर्मचारी हुन्। राजनीतिक परिवर्तनपछि डा. शाहले राजीनामा दिएका थिए, यद्यपि उनको कार्यकाल समाप्तिको समय नजिक भएकाले राजीनामा औपचारिक रूपमा मन्त्रालय हुँदै मन्त्रिपरिषद्सम्म पुगेको थिएन।

काउन्सिलको अध्यक्ष र रजिस्ट्रारको नियुक्ति मन्त्रिपरिषद्बाट हुने व्यवस्था छ भने दुई सदस्यको नियुक्ति सम्बन्धित मन्त्रालयले गर्ने प्रावधान रहेको छ। रिक्त पदहरू लामो समय खाली नराखी तत्काल पूर्ति गर्नुपर्ने आवश्यकता देखिएको छ।