काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ। नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी तथा नागरिकता लिएको पुष्टि भएपछि उनीहरूको नाम काउन्सिलको दर्ता किताबबाट हटाइएको हो।
काउन्सिलले शुक्रबार सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ बमोजिम दर्ता खारेज गर्ने निर्णय गरिएको जनाएको छ। यो निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू हुने काउन्सिलले स्पष्ट पारेको छ।
काउन्सिलका अनुसार दर्ता खारेज गरिएका चिकित्सकहरूले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको छ।
कानुनी व्यवस्थाअनुसार नेपाली नागरिकका रूपमा दर्ता भएका चिकित्सकहरूले विदेशी नागरिकता लिएपछि उनीहरूको पुरानो दर्ता स्वतः अवैध हुने व्यवस्था रहेको छ।







