श्री कालिका मावि साम्दिनमा ‘विद्यालय सुधार समिति’ गठन

असोज, २४ पाँचथर । अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु भएको श्री कालिका मावि फिदिम–२, साम्दिनमा विद्यालयका गतिविधि निगरानी गर्नका लागि ‘विद्यालयमा सुधार समिति’ गठन गरिएको छ ।

युवा अभिभावक दिपेन्द्र आचार्यको संयोजकत्वमा शुक्रबार ११ सदस्य समिति गठन गरिएको हो । उक्त समिति विद्यालयमा शिक्षक, अभिभावक, व्यवस्थापन समितिलगायतका कमिकमजोरीलाई औंल्याई सजग गराउने उदेश्यले गठन गरिएको हो । उक्त समितिले शैक्षिक गुणस्तरमा सुधारका मुख्य भूमिका खेल्ने संयोजक दिपेन्द्र आचार्यले बताए ।

विद्यालयका अभिभावक र शिक्षकहरुले अग्रेंजी माध्यमबाट पठन–पाठन गराउने वातावरण बनाउन प्रतिबद्धता जनाएका छन् । यसका लागि अभिभावकसँग शिक्षकहरुले प्रतिबद्धता गराएका छन् भने अभिभावकहरुले पनि शिक्षकसँग प्रतिबद्धता गराएका छन् ।

अंग्रेजी माध्यमबाट निजी विद्यालयमा आफ्ना बालबालिका पढाउनुपर्ने बाध्यता हटाउनका लागि माविमा अंग्रेजी माध्यम सुरु गरिएको निमित्त प्रधानाध्यापक टंकप्रसाद अधिकारीले बताए ।

निजी विद्यालयले विभिन्न बहानामा मासिक, भर्ना, अतिरिक्त कृयाकलाप लगायतका बहानामा शुल्क बढी लिने जस्ता समस्या अभिभावकहरुले झैल्दै आएका छन् । उक्त समस्या मात्र नभएर सामान्य परिवारका बालबालिका पनि सामुदायीक विद्यलयमा नै अंग्रेजी माध्यमबाट पढ्न पाउने अवसर मिल्ने विद्यालयका शिक्षक देवी तुम्बापो ‘डबिट’ले बताए ।

कोरोनाभाइसरको संक्रमणबाट लामो समय बन्द रहेको विद्यालयमा केहि समय अघिदेखि पठन–पाठन सुरु भएको हो । विद्यालयमा सुरक्षाका मापदण्ड अपनाएर पठन–पाठन सुरु गरिएको विद्यालयका शिक्षक चन्द्र मुखियाले जानकारी दिए ।