काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारामा रहेको सुकुमबासी बस्ती खाली गरिएको छ। बस्ती खाली गर्ने क्रममा आफू घरबार विहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रंगशालामा लगिएको छ ।
काठमाडौं महानगरपालिकाका अनुसार यहाँ बसोबास गर्नेहरूले धेरैजसो आफैँले कोठा खोजेर सरेका छन् भने केही आफन्तकोमा गएका छन् ।
बस्तीका टहरा हटाउनुअघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेको जनाएको छ ।
सरकारले नदी किनार अतिक्रमण हटाउने अभियानअन्तर्गत सुकुम्बासी बस्ती खाली गराएको हो । आज बिहानैदेखि सुकुम्बासी बस्तीका बासिन्दाहरूले आफ्नो सरसामान हटाएका थिए ।
डोजर चल्नुअघि नै उनीहरूको सरसामान हटाइ टहराहरू भत्काएको छ । सरकारले सक्कली सुकुम्वासीको पहिचान नहुँदासम्म अल्पकालिन व्यवस्था गरेको छ । सरकारले सुकुमबासीलाई तत्कालका लागि ५ वटा विभिन्न स्थानमा पुनर्स्थापना गर्ने तयारी गरेको छ ।
थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सरकारी जग्गा खाली गराउने अभियानसँगै सरकारले कतै पनि जायजेथा नभएका भूमिहीनहरूका लागि नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, खरीपाटी र चाँदबागमा बसोबासको विकल्प गराउनेछ ।







