काठमाडौँ – अर्थ मन्त्रालयले नेपालको वर्तमान आर्थिक अवस्थासम्बन्धी स्थितिपत्र सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणका क्रममा यस्तो प्रतिवेदन तयार गर्ने घोषणा गरेका थिए।
सार्वजनिक प्रतिवेदनमा मुलुकको हालको आर्थिक अवस्था विश्लेषण गर्दै आगामी वर्षदेखि औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्रस्तुत गरिएको छ। साथै ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलरभन्दा माथि पुर्याउने प्रक्षेपण गरिएको छ।
मन्त्रालयका अनुसार आर्थिक विस्तारमार्फत अर्थतन्त्रको आकार करिब १ खर्ब अमेरिकी डलर नजिक पुर्याउने र नेपाललाई मध्यम आय भएका राष्ट्रहरूको श्रेणीमा उकास्ने आधार तयार भएको उल्लेख गरिएको छ।
त्यसैगरी आगामी पाँच वर्षभित्र विद्युत् जडित क्षमता १५ हजार मेगावाट पुर्याउने लक्ष्य राखिएको छ। राष्ट्रिय गौरवका प्रमुख आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने र रणनीतिक महत्त्वका नयाँ पूर्वाधार परियोजनाहरू अघि बढाउने योजना पनि समेटिएको छ।
पूर्वाधार विकाससँगै निजी क्षेत्रको लगानी आकर्षित भई आर्थिक वृद्धिदर थप तीव्र हुने अपेक्षा मन्त्रालयले व्यक्त गरेको छ।
स्थिति पत्रमा अर्थतन्त्रको समष्टिगत आर्थिक तथा सामाजिक अवस्थाको विस्तृत र यथार्थपरक विश्लेषण गरिएको मन्त्रालयको भनाइ छ।







