सशस्त्र प्रहरी बल नेपालका १३औँ आईजीपी नारायणदत्त पौडेल को हुन् ?

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) पदमा अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । हाल सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभाग प्रमुखका रूपमा कार्यरत पौडेलले १८ वैशाखपछि संगठनको नेतृत्व सम्हाल्नेछन् । वर्तमान आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी सोही मितिमा अवकाशमा जानेछन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३, करेखोलाका स्थायी बासिन्दा पौडेल हाल काठमाडौँको टोखामा बसोबास गर्दै आएका छन् ।

पौडेल १८ चैत २०५४ मा नेपाल प्रहरीको निरीक्षक पदबाट सेवा प्रवेश गरेका हुन् । सशस्त्र प्रहरी बल गठनपछि उनी सो संगठनमा स्थानान्तरण भई निरन्तर सेवा दिँदै आएका छन् ।

सेवा अवधिमा उनी विभिन्न जिम्मेवारीपूर्ण पदमा कार्यरत रहँदै क्रमशः पदोन्नति हुँदै आएका छन् । उनलाई १८ असार २०५८ मा कामु डीएसपीको जिम्मेवारी दिइएको थियो भने १८ चैत २०५८ मा स्थायी डिएसपीमा बढुवा गरिएको थियो । त्यसपछि २९ चैत २०६३ मा एसपी, २ जेठ २०७० मा एसएसपी, १३ कात्तिक २०७५ मा डिआइजी र ६ जेठ २०७९ मा एआईजी पदमा बढुवा भएका हुन् ।

आईजीपी बढुवाका लागि पौडेल पहिलो वरीयतामा रहेका थिए । सीमा सुरक्षा विभागमा कार्यरत एआईजी वंशी दाहाल र कार्य विभागमा कार्यरत एआईजी गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा रहेका थिए । दुवै अधिकारी वरीयता र सेवा अवधिका आधारमा पौडेलभन्दा जुनियर रहेका छन् ।

दाहाल २८ असोज २०७९ मा एआईजीमा बढुवा भएका थिए, जुन पौडेलभन्दा करिब पाँच महिनापछि हो । त्यतिबेला दाहाललाई एआईजीमा बढुवा गर्न सीमा सुरक्षा विभागमा अतिरिक्त दरबन्दी सिर्जना गरिएको थियो । त्यस्तै, गणेश ठाडा मगर २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र २ असार २०८२ मा एआईजीमा बढुवा भएका अधिकारी हुन् ।

नवनियुक्त आईजीपी पौडेलले १८ चैत २०८४ सम्म संगठन प्रमुखको जिम्मेवारी निर्वाह गर्नेछन् । सशस्त्र प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा हदका कारण सोही मितिमा उनी अवकाशमा जानेछन् ।